काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पेस गर्नुभयो ।
बैठकमा अर्थमन्त्री पौडेलले विरोधका सूचना राख्ने सांसदहरुले राख्नुभएको जिज्ञाशाको जवाफ दिँदै प्रस्तुत विधेयकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्ने तथा लगानी अभिवृद्धिका निम्ति अनकूल वातावरण निर्माण गर्ने स्पष्ट पार्नुभयो ।
बैठकले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरु प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल, रणेन्द्र बराली, चित्रबहादुर केसी र हितबहादुर तामाङबाट प्राप्त विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।