नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ : विज्ञ

  ७ घण्टा अगाडि

काठमाडौँ, २६ फागुन : सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् ।

नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् । “सूर्तिजन्य तथा मदिराजन्य पदार्थ प्रयोगको अवस्था, यसको प्रभाव र नियन्त्रण तथा नियमनसम्बन्धी स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरुसँग छलफलमा क्यान्सर रोग विशेषज्ञ प्रा डा विवेक आचार्यले सूर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पु-याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सूर्तिजन्य पदार्थले १२ देखि १३ प्रकारका क्यान्सर गराउँछ । यो एकदमै घातक हो । मुटुरोग, मष्तिष्कघात, फोक्सोको समस्या आदि यसले निम्त्याउन सक्छ । यसले स्वास्थ्यमा असर पार्नुका साथै आर्थिक भार थपेको छ ।”

उहाँले वयस्कमा चुरोट सेवनको लत बढिरहेको बताउँदै नेपालमा अबको २० देखि ३० वर्षमा क्यान्सर खेप्न नसकिने अवस्थामा देखिने बताउनुभयो । “सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन गर्न सकेका छैनौँ । क्यान्सर बढ्दो अवस्थामा छ । अहिले नै रोकथाममा सम्बोधन नगरेपछि भयावह स्थिति आउन सक्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले विश्वमा मदिराको हानिकारक प्रयोगका कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मदिराको प्रयोगले दुई सय भन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ । यसले अकालमा मृत्यु गराउने र जीवनशैलीमा ह्रास ल्याउँछ ।”

मदिराको उपलब्धतामा भएका प्रतिबन्धलाई बढावा दिने, स्क्रिनिङ सहजताका साथै उपचारमा पहुँच, विज्ञापन, प्रायोजन तथा पदोन्नतिमा व्यापक प्रतिबन्ध, अन्तःशुल्क तथा मूल्य निर्धारण नीतिमार्फत मदिराजन्य पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।

केन्द्रका निर्देशक डा केशवराज पण्डितले नसर्ने रोगको भारको मुख्य कारकमध्ये सूर्तिजन्य तथा मदिराजन्य पदार्थ रहेको बताउनुभयो । उहाँले यी सम्बन्धी बनेका कानुन कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया