तम्घास, २६ फागुन : गुल्मीमा जिपलाइनप्रति आकर्षण बढ्दै गएको छ । छत्रकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको जिपलाइनमा दुई महिनाको अवधिमा करिव एक हजारले सहासीक यात्रा गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका–३ को छत्रकोट देवालय मन्दिरदेखि भगवती मन्दिर–लुम्छासम्म पुग्ने गरि निर्माण भएको जिपलाइनको गत पुस महिनाबाट सञ्चालनमा आएको हो । गाउँपालिकाका सूचना अधिकारी हरि टन्डनका अनुसार करिव दुई महिनाको अवधिमा आठ सय ३६ जनाले साहसीक जिपलाइन चढेका छन् भने जसबाट तीन लाख ८२ हजार ९५० राजस्व जम्मा भएको छ ।
जिपलाइन चढ्नको लागि गाउँपालिकावासीहरुको लागि चार सय, विद्यार्थीहरुको लागि तीन सय, पालिका बाहिरका नागरिकको लागि पाँच सय र विदेशी नागरिकको लागि एक हजार पाँच सय रुपियाँ शुल्क निर्धारण गरिएको छ ।
बिदाको दिन समय मिलाएर स परिवार आफूहरुले जिपलाइनको यात्रा गरेको रेसुङ्गा नगरपालिका ८ मा बस्दै आउनुभएकी सुधासिंह ठकुरीले बताउनुभयो । जिपलाइनको यात्रा आफूहरुलाई रमाइलो लागेको बताउँदै बच्चाहरु पनि खुसी भएको उहाँको भनाइ छ ।
गाउँपालिकाले ‘रुरु रेसुङगाको धार्मिक आस,छत्रकोटमा बसौं वास’ भन्ने नीति नै बनाएर पर्यटकीय गनतव्य निर्माण र सञ्चालन गर्ने कार्यलाई अगाडि बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
एक हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटरको उचाइ छ । जिपलाइनमा औषत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशन देखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्ने समय ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान रहेको छ ।
जिपलाइनको ८६ लाख ७३ हजार एक सय ४४ रुपियाँको लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेती देवी कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियो ।
छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षक गन्तव्य बन्ने पालिकाले विश्वास लिएको छ । यसैबीच रेसुङगा नगरपालिकाले पनि जिपलाइन निर्माणको काम अगाडि बढाएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल रेसुङगाको गर्जुरामाथि रहेको पधेराबाट गर्जुरा पार्क भित्र सम्म आउने गरी जिपलाइन निर्माणको कार्य अगाडि बढेको सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । रुरुक्षेत्र गाउँपालिकाले पनि जिपलाइन निर्माणका लागि विस्तृत लागत अनुमान (डिपीआर)को कार्य गरेको जनाएको छ । गोरखापत्र अनलाइन