काठमाडौँ, २५ फागुन : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन निर्देशन दिनुभएको हो ।
उहाँले अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरुले उठाउनुभएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफल दिन निर्देशन दिनुभयो ।
बैठकमा प्रधानमन्त्रीकातर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । राष्ट्रियसभाको अर्को बैठक आगामी चैत ४ गते दिउँसो १ः१५ हुनेछ ।