जनकपुरधाम, २३ फागुन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताउनुभएको छ । शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री सिंहले बेथिति अन्त्यका लागि विगतका सङ्घीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरूले पनि कुनै काम नगरेको आरोप लागाउनुभयो । उहाँले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गर्नुभयो ।
मधेशका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उहाँको भनाइ छ । उहाँले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भए पनि अभियान जारी राख्ने बताउनुभयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘‘चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो जुन त्यही दिन बन्द गयौँ र एउटा मात्र सञ्चालन भयो । अब यो २० जना मेरो पछाडि खनिएर लाग्छ । तर उनीहरूले जे–जे भन्नु छ भनोस्, जबसम्म कन्ट्रोल हुँदैन तबसम्म यो अभियान रोकिँदैन ।’’
मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताउनुभयो । बिना मापदण्ड खोलिएका अस्पतालहरूमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उहाँको भनाइ छ । उहाँले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरूले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताउनुभयो । उहाँले मधेशका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसइई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताउनुभयो ।