द्वन्द्वप्रधान चलचित्रमा जोखिम छ : अभिनेता श्रेष्ठ

  फागुन २१, २०८१

काठमाडौँ, २१ फागुन : अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनुका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठले बताउनुभएको छ ।

आज यहाँ चलचित्र ‘आउट ल : दफा २१९’ को विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता श्रेष्ठले नेपालमा उपलब्ध स्रोत र साधनको प्रयोगमा तयार गरिने द्वन्द्वप्रधान चलचित्रमा जोखिमको सम्भावना रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य विधाका चलचित्रमा मैले सरल रुपमै छायाङ्कन सम्पन्न गरेँ तर यसपटक निकै मेहनत गरेको छु । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ । विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य गर्ने भए तापनि नेपालमा भने अभिनेताले नै सबै दृश्य गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा मेरो हातको औँला भाचिनेदेखि चोटपटक लाग्ने धेरै नै भयो ।”

प्रायः प्रेमकथानक चलचित्रमा देखिरहनुभएका अभिनेता श्रेष्ठले यसपटक फरक चलचित्रमा काम गर्न दुई वर्ष लागेको जानकारी दिनुभयो । “मैले एउटा अभिनेताले गर्नुपर्ने मेहनतमा कमी गरेको छैन । मेरो औँला भाँचिए पनि छायाङ्कन गर्ने सेट निर्माण भएकाले एउटा हातकै सहाराले पनि काम गरेँ । किनकि हामी कहाँ नेपालमा छायाङ्कन रोकियो भने बजेट बढ्छ, निर्मातालाई लगानी उठाउन कठिनाइ हुन्छ । सोही कारण आफैँले पीडा सहेर पनि काम सकेँ”, अभिनेता श्रेष्ठले भन्नुभयो, “अहिले म घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ ।”

उहाँले आफूले आगामी दिनमा द्वन्द्वप्रधान चलचित्रमा काम गर्ने की नगर्ने भन्ने विषयको निक्र्यौल ‘आउट ल ः दफा २१९’ सफलता वा असफलताले गर्ने बताउनुभयो । उहाँले दफा २१९ कै विषयलाई केन्द्रमा राखेर चलचित्र तयार गरिएको बताउनुभयो ।

चलचित्रका निर्देशक विक्की महर्जनले नेपालमा बनिरहेका भन्दा फरक गर्ने प्रयासमा दुई वर्ष आगाडि नै द्वन्द्व विधालाई रोजेर काम गरिएको बताउनुभयो ।

“हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दुई वर्ष लाग्यो । तर, तत्कालीन समयमा पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भने द्वन्द्वप्रधान चलचित्र निर्माण सुरू गरेका थियौँ । यसमा हामीले कुनै सम्झौता गरेका छैनौँ, सोही कारण समय लागेको हो”, निर्देशक महर्जनले स्पष्ट गर्नुभयो ।

उहाँले द्वन्द्वको एउटा दृश्यलाई खिच्न रु ४० लाख लागेको समेत दाबी गर्नुभयो । उहाँका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट ल : दफा २१९’ का दृश्यलाई तयार गरिएको छ ।

यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गर्नुभएको हो । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्तरुपमा पटकथा तयार गर्नुभएको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गर्नुभएको हो । उक्त चलचित्र निर्माणमा करिब रु तीन करोड खर्च भएको सो अवसरमा बताइयो ।

तपाईको प्रतिक्रिया