ढल्केबर, १८ फागुन : गत शनिबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५, बनिनियाँस्थित एक घरमा सातादेखि ताल्चा लागेको सूचना पाएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । प्रहरीले अनुसन्धानको क्रममा घरभित्र प्रवेश गर्दा पूजा कोठामा गाडिएको अवस्थामा २० वर्षीया अन्जलीदेवी यादवको शव भेटायो ।
प्रारम्भिक अनुसन्धानमा श्रीमान हरिराम यादवले नै अञ्जलीको हत्या गरेर शव लुकाएको खुलेको छ । छिमेकीका अनुसार घटना हुनु एक दिनअघि दम्पतीबिच झगडा भएको थियो । हत्या गरिसकेपछि हरिरामले गाउँमा श्रीमती भागेको हल्ला फैलाए र १० महिनाकी छोरी लिएर फरार भए । प्रहरीले हरिरामको खोजी जारी राखेको छ ।
यस्तै, पर्साको वीरगञ्ज–२७, निवासी १९ वर्षीय इशालप्रसाद कुर्मी गत फागुन ७ गते घरबाट निस्केपछि हराएका थिए । चार दिनपछि फागुन ११ गते भेडाहा खोलामा कुर्मीको शव तैरिरहेको अवस्थामा फेला पर्यो ।
पर्सा प्रहरीका अनुसार कुर्मीलाई आफ्नै तीन जना साथी मुकेश यादव, अरुण यादव र मुना तिवारीले मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धान खुलेको छ । तीन हजार पाँच सय रुपियाँ लेनदेनका कारण कुर्मीको हत्या भएको प्रहरीको भनाइ छ। पर्सा प्रहरीले अभियुक्तलाई पक्राउ गरिसकिएको छ ।
पुस ४ गते धनुषाको मिथिला विहारी नगरपालिका–२ पुरनदाहाको खैरा खोल्सीमा बोरामा बाँधेर फ्याँकिएको अवस्थामा ३३ वर्षीय शहिद अन्सारीको शव भेटियो । अन्सारी कतारमा वैदेशिक रोजगारीमा कार्यरत थिए । उहाँ अनिता यादवसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो ।
कतारबाट नेपाल फर्किएका अन्सारीलाई अनिताले आफ्ना श्रीमान राजकिशोर यादवसँग मिलेर बञ्चरो प्रहार गरी हत्या गरिन्। घटना लुकाउन शवलाई बोरामा बाँधेर खोल्सीमा फालिएको थियो । हत्या आरोपमा प्रहरीले अनिता पक्राउ परिसकेकी छन् भने उहाँको श्रीमान राजकिशोरको खोजी कार्य भइरहेको धनुषा प्रहरीको भनाइ छ ।
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुससम्म ४३ जनाको हत्या भएको छ । त्यसमध्ये २७ पुरुष र १६ जना महिला छन् । जिल्लागत रूपमा धनुषा र सप्तरीमा ६–६, सिरहा र महोत्तरीमा ५–५, सर्लाहीमा ८, रौतहटमा ४, बारामा ७ तथा पर्सामा २ जनाको हत्या भएको छ । प्रहरीका अनुसार हत्यमा अभियोगमा ४२ पुरुष र १७ महिलासहित ५९ जनालाई पक्राउ गरिएको छ ।
गत आर्थिक वर्ष ०८०-८१ मा मधेश प्रदेशमा १२८ जनाको हत्या भएको थियो । जसमध्ये ८९ पुरुष र ३९ महिला थिए । प्रहरीले हत्यासँग सम्बन्धित २६२ जनालाई पक्राउ गरेको थियो ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता तथा सूचना अधिकारी शान्तिराज कोइरालाले पारिवारिक कलह, अनैतिक सम्बन्ध, लागूऔषधको सेवन, वैदेशिक रोजगारी तथा आर्थिक लेनदेन विवादका कारण हत्या जस्ता जघन्य अपराधका घटना भएको बताउनुभयो । उहाँका अनुसार समाजिक सञ्जालको गलत उपयोग र विवाहेत्तर सम्बन्धले पनि हत्याका घटना निम्त्याएको छ ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न समाजमा सचेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँका अनुसार अपराध नियन्त्रणका लागि स्थानीय प्रशासन, प्रहरी र समाजबीच सहकार्य हुनुपर्छ ।
लागूऔषध कारोबार, वैदेशिक रोजगारीको गलत प्रयोग तथा पारिवारिक हिंसाका घटनामा सजगता अपनाउनुपर्ने आवश्यकता देखिन्छ । मधेशमा बढ्दो अपराध रोकथामका लागि कानुनी कारबाही कडा पार्नुका साथै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । गोरखापत्र अनलाइन