काठमाडौं, १६ फागुन : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपियाँ नाफा कमाएको छ । सूचनाको हकसम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपियाँ आम्दानी गरेको छ ।
विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरुलगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपियाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपियाँ हुने प्रक्षेपण गरिएको छ ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपियाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत् बिक्रीबाट ५३ अर्ब १८ करोड रुपियाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरुवाट एक अर्ब १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट पाँच अर्ब १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत् खरिद गरिएको छ ।
खरिद गरिएको विद्युतका लागि ३४ अर्ब ८४ करोड रुपियाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत् आयात गरी १ अर्ब ६५ करोड रुपियाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा एक अर्ब ७७ करोड १८ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपियाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणका तर्फबाट १३ अर्ब ३५ करोड रुपियाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुक्तानीतर्फ १० अर्ब ४९ करोड रुपियाँ खर्च भएको छ ।