जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री गुरुङ

  ७ घण्टा अगाडि

लमजुङ, १६ फागुन : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभएको छ। जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो।

नेकपा (एमाले) लमजुङद्वारा शुक्रबार बेँसीसहरमा आयोजित नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले जनताप्रति संवेदनशील भएरै सरकारले उखु किसान, दूध किसानको भुक्तानीमा तदरुकता दिएको बताउनुभयो। उहाँले सहकारी पीडित र मिटरब्याजीको समस्या समाधानमा सरकार लागिपरेको बताउनुभएको छ।

उहाँले स्थानीय सरकार सधैँ जनताप्रति उत्तरदायी र संवेदनशील भएर काम गर्नुपर्ने सुझाव दिनुभयो। “सरकार जहिले पनि सुशासन कायम गर्नतर्फ, पारदर्शिता, राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “स्थानीय सरकार यही गतिलाई आत्मसाथ गरेर अघि बढ्नुपर्छ।” उहाँले स्थानीय सरकारले संविधानले दिएको अधिकारलाई प्रयोग गर्नतर्फ अग्रसर हुन आग्रह गर्नुभयो।

“संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारका एकाल अधिकार र साझा अधिकारबारे स्पष्ट रूपमा तोकेको छ”, उहाँले भन्नुभयो, “जनप्रतिनिधिले अनिवार्य रूपमा संविधान, ऐन, कानुन र नियमावली अध्ययन गर्नुपर्छ र आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ।” उहाँले स्थानीय सरकार प्रभावकारी र परिणाममुखि काम गर्नतर्फ अग्रसर हुनुपर्ने सुझाव दिनुभयो।

सरकारलाई प्रभावकारी रूपमा अघि बढाउन दीर्घकालीन योजना निर्माण गरी त्यसअनुरूप बजेटको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। स्थानीय सरकारले गरेका राम्रा कामका प्रचार गर्न नसक्दा जनताप्रति निराशा छाएको उहाँले बताउनुभयो।

भेलामा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले स्थानीय सरकारले अहिलेसम्म गरेका कामको मध्यावधि समीक्षा गर्दै योजना निर्माणमा लाग्न सुझाव दिनुभयो। केन्द्रीय अनुशासन विभागका सदस्य मायानाथ अधिकारीले स्थानीय ससरकारले जनतालाई उत्पादन र रोजगारसँग जोड्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो। गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले निर्वाचित हुनुभन्दा पहिलेको पालिकाको अवस्था र पछिको अवस्थाबारे जनप्रतिनिधिले ख्याल गरेर काम गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपाकिलाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर गुरुङ, सुन्दर बजार नगरपालिकाका उपप्रमुख भवानी अधिकारी र मध्यनेपाल नगरपालिकाकाको उपप्रुमुख सीता गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो। गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया