वासिङ्टन, १६ फागुन : एक हप्ताअघि डोनाल्ड ट्रम्पले भोलोदिमर जेलेन्स्कीलाई तानाशाह भन्नुभएको थियो । शुक्रबार उहाँले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा स्वागत गर्दै हुनुहुन्छ र वासिङ्टनलाई युक्रेनको दुर्लभ खनिजहरूमा पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्दै हुनुहुन्छ ।
किएभले ट्रम्पको रूसतर्फको हालैको झुकावका बावजुद समर्थन सुरक्षित गर्न खोजिरहेका बेला यो असाधारण परिवर्तनले वासिङ्टनमा केन्द्रित एक हप्ताको तीव्र अन्तर्राष्ट्रिय कूटनीतिलाई समेट्छ ।
ट्रम्पले दुई साताअघि किएभबिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै तीन वर्ष पुरानो युद्ध अन्त्य गर्ने वार्ता सुरु गरेर युक्रेनबारे अमेरिकाको वर्षौंको नीतिलाई उल्टाइदिनुभयो ।
उहाँले जेलेन्स्कीलाई ‘चुनावविहीन तानाशाह’ भनेर हप्काउँदै र सन् २०२२ को फेब्रुअरीमा रुसको आक्रमणका लागि युक्रेनलाई दोष दिँदै सहयोगीहरूलाई पनि चिन्तित बनाउनुभयो ।
तर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरको भ्रमणपछि हालैका दिनहरूमा ट्रम्पको स्वर नरम भएको छ । “म उहाँप्रति धेरै सम्मान गर्दछु”, ट्रम्पले बिहीबार जेलेन्स्कीको बारेमा भन्नुभयो, “हामी साँच्चै राम्रोसँग मिल्नेछौँ ।”
ट्रम्पले गत हप्ता सामाजिक सञ्जालमा जेलेन्स्कीविरुद्ध गरेको ‘तानाशाह’ प्रहार पनि फिर्ता लिनुभयो । यो व्यङ्ग्यलाई उहाँले पहिले फिर्ता लिन अस्वीकार गर्नुभएको थियो भने उहाँले पुटिनलाई पनि तानाशाह भन्न अस्वीकार गर्नुभएको थियो ।
“के मैले त्यस्तो भनेको थिएँ । मलाई विश्वास लाग्दैन मैले त्यस्तो भनेको थिएँ”, स्टार्मरसँगको बैठकका क्रममा पत्रकारहरूले जेलेन्स्कीबारे गरेको टिप्पणीबारे सोध्दा ट्रम्पले जवाफ दिनुभयो ।
विशेष गरी तेल, ग्यास र दुर्लभ पृथ्वी धातुहरू लगायत युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनलाई प्राथमिक पहुँच दिने सम्झौताको जेलेन्स्कीको प्रारम्भिक अस्वीकृतिबाट तानाशाहको आक्रोश उत्पन्न भएको थियो ।
जेलेन्स्कीले कुनै पनि सम्झौताको हिस्साका रूपमा अमेरिकी सुरक्षा ग्यारेन्टीको माग गर्नुभयो तर ट्रम्पले कुनै पनि प्रतिबद्धता दिन अस्वीकार गर्नुभएको छ ।
अर्बपति रियल स्टेट व्यावसायी ट्रम्पले युक्रेनलाई सैन्य र अन्य सहायतामा दिएको अर्बौं डलर फिर्ता लिन वासिङ्टनलाई यो सम्झौता आवश्यक रहेको जोड दिनुभयो ।
अन्ततः जेलेन्स्की नरम हुनुभयो र यसमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा आउन सहमत हुनुभयो । यो सम्झौताले संयुक्त राज्य अमेरिकालाई युक्रेनको धेरै खनिज सम्पत्तिमा हिस्सा दिनेछ ।
“हामी युक्रेनको स्रोतका लागि उत्खनन गर्नेछौँ”, ट्रम्पले बिहीबार पत्रकारहरूलाई भन्नुभयो ।
खनिज सम्झौताका केही विवरण मात्र बाहिर आएका छन् । जेलेन्स्कीले यस हप्ता पत्रकारहरूलाई यसले व्यापक सम्झौताहरूका लागि रूपरेखाका रूपमा काम गर्ने बताउनुभयो ।
अमेरिकी र युक्रेनी अधिकारीहरूबिचको थप छलफलले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीहरूको प्रकृति र सम्झौतामा सम्बन्धित रकमको सही मात्रा निर्धारण गर्ने उहाँले बताउनुभयो । तर ट्रम्पले कुनै पनि ग्यारेन्टीको प्रतिबद्धता गर्न बारम्बार अस्वीकार गर्नुभएको छ ।
बेलायत र फ्रान्स दुवैले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताको स्थितिमा शान्ति सैनिकहरू प्रस्ताव गरेका छन् तर अमेरिकी गुप्तचर र सम्भवतः हवाई शक्तिसहित अमेरिकाको ‘ब्याकस्टप’ हुनुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले बिहीबार स्टार्मरलाई उहाँ सुरक्षा ग्यारेन्टीको सन्दर्भमा ‘धेरै कुराहरूका लागि खुला’ रहेको तर आफूले पहिले रूस–युक्रेन सम्झौता गर्न चाहेको बताउनुभयो ।
ट्रम्पले सम्झौताको दिशामा ‘धेरै प्रगति’ भएको बताउनुभयो । तर त्यसपछि उहाँले भन्नुभयो, “यो या त धेरै चाँडै हुनेछ वा यो बिल्कुलै हुनेछैन ।” अमेरिकी र रूसी अधिकारीहरूले बिहीबार इस्तानबुलमा नयाँ चरणको वार्तामा भेटेका छन् ।
पुटिन र ट्रम्पले फेब्रुअरी १२ मा फोनमा कुराकानी गरेपछि आफूहरू व्यक्तिगत रूपमा भेट्न सहमत भएको बताउनुभएको थियो तर उहाँहरूले अहिलेसम्म कुनै पनि बैठकलाई अन्तिम रूप दिनुभएको छैन । रासस/एएफपी