गोरखा, १५ फागुन : जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका–३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरुको भीड लागेको छ । आज बिहानदेखि गाउँमा एकाएक पतेरा आएपछि टिप्नेहरुको भीड लागेको स्थानीय कुमारी गुरुङले बताउनुभयो ।
“सिर्दिबास र फिलिम जोड्ने पुल मुनि आज बिहानदेखि पतेरा देखापरे, त्यसपछि गाउँलेहरु एकाएक टिप्न गए”, उहाँले भन्नुभयो, “बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ । बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएकामा दिउँसो प्रतिकिलो रु तीन हजारमा कारोबार भयो ।” उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्नेबारे केही थाहा नभएको गाउँलेको भनाइ छ ।
उहाँका अनुसार एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन् । सो वडाका वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरु टिप्न गएको बताउनुभयो । “यसरी मान्छेहरु गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन”, उहाँले भन्नुभयो । टिप्न जानेहरुले तरकारी हुन्छ रे भनेर सुनाएको उहाँले बताउनुभयो ।
यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)मा समेत जानकारी गराइएको छ । यसक्षेत्रमा ठूलो सङ्ख्यामा पतेरा आएको पहिलो पटक भएको वडाअध्यक्ष गुरुङ बताउनुहुन्छ । “पहिला गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छ । कहाँबाट आयो थाहा भएन”, उहाँले भन्नुभयो ।