प्रधानमन्त्रीसँग भारत, भूटान र माल्दिभ्सका एनसिसीका प्रतिनिधिको शिष्टाचार भेट

  १० घण्टा अगाडि

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री ओलीसँग महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिक उत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने उक्त युवा आदानप्रदान कार्यक्रममा सहभागी हुन आएको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले युुवा आदानप्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्र राष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबिच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताउनुुभयो ।

उहाँले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थहरूको अझ बढी बुुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाइ सम्पूूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकताहरू अनुुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।

कार्यक्रमअन्तर्गत विभिन्न देशका युवाहरूलाई एकत्रित गरेर उनीहरुलाई वफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ । एनसिसीले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्त गुणहरू विकास तथा प्रवर्धन समेत गर्दै आएको छ ।

उक्त ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा यही फागुन ९ गते नेपाल आएको हो । भेटका अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अलीलगायत सहभागी हुनुुहुुन्थ्यो । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया