‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’

  फागुन ०७, २०८१

गण्डकी, ७ फागनु : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले वर्तमान संविधान जग २००७ सालको क्रान्ति भएको बताउनुभएको छ । ७५औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सात दशक लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधानको जग विसं २००७ को क्रान्ति भएको बताउनुुभयो ।

“जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुन सक्दछ”, सन्देशमा भनिएको छ । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले मुलुकमा प्रजातन्त्र स्थापनार्थ भएका अनेकौँ आन्दोलनलाई पथप्रदर्शन गरेका अग्रजप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।

मुलुकको सार्वभौमसत्ता जनतामानिहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविष्मरणीय दिनको रूपमा अङ्कित रहेको प्रदेश प्रमुख भट्टको सन्देशमा भनिएको छ । यस दिनले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै उहाँले यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया