काठमाडौँ, ७ फागुन : राष्ट्रिय समाचार समिति (रासस)ले स्थापनाको मुलमन्त्र सत्य, तथ्य र विश्वसनीयताको छविलाई कायम राख्दै युगको मागअनुसार समाचार विषयवस्तुलाई थप समावेशी र गुणस्तरीय बनाउँदै लैजान सुझाव दिइएको छ ।
राससको ६४ औँ वार्षिकोत्सवमा अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रजहरुले समसामयिक विषयसँगै समाज र आमजनताको मुद्दालाई पनि राससले आफ्ना ‘कन्टेन्ट’मा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सत्य, तथ्य र भरपर्दाे सूचना राससबाट प्राप्त हुन्छ भन्ने स्थापित मान्यतालाई जोगाउन सुझाव दिँदै राससबाट सम्प्रेषण हुने त्यस्ता समाचारले नागरिकलाई सही सूचना प्राप्त गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सीमित स्रोत र साधनका बाबजुत राससले सेवाको विविधिकरण गरिरहेको जनाउँदै स्रोत सुनिश्चित भएमा राज्यले अघि बढाएका र राससले थालनी गरिका महत्वपूर्ण कामले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।
“रासस सरकारको सूचना सम्प्रेषण गर्ने उपयुक्त संस्था हो भने सरकारले त्यो जिम्मेवारी देओस्, हामी त्यो जिम्मेवारीलाई औपचारिक ढङ्गले पूरा गर्न चाहन्छौँ”, उहाँले भन्नुभयो, “युगअनुसार समाचार विषयवस्तुलाई समावेशी र प्रविधियुक्त बनाउन ‘कन्टेन्ट वर्कसप’लगायत कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले विश्वसनीय समाचार सम्प्रेषण गर्ने संस्थाका रुपमा आफ्नो छवी बनाएको राससले विषयवस्तु र समाचारलाई समावेशी तुल्याउदै अघि बढिरहेको बताउनुभयो ।
सार्वजनिक सेवा प्रसारण संस्थाका प्रमुख डा महेन्द्र विष्टले राससका समाचार सेवा जति गुणस्तरीय र प्रभावकारी हुन्छन् त्यति नै संस्थाका दायरा फराकिलो बन्दै जाने धारणा व्यक्त गर्नुभयो ।
राससका महाप्रबन्धक सिद्धराज राईले आजको डिजिटल युगमा आफूलाई समयानुकुल परिवर्तन गरी सेवा प्रवाहको गुणस्तरमा सुधार गर्न हरसम्भाव प्रयास गरिरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटा, रासस कर्मचारी सङ्घका अध्यक्ष पवित्रा गुरागाईं, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले कर्मचारीबाट सम्पादन भएका कामको उचित मूल्याङ्कन गर्न, वृत्तिविकासका कार्यक्रम अघि बढाउन, समाचारको गुणस्तर अभिवृद्धिका साथै आन्तरिक सुशासन कायम गर्न व्यवस्थापनको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी, अन्तर्राष्ट्रिय, फिचर÷आलेख÷विचार सेवा, फोटो सेवा, अडियो सेवा हुँदै २०७९ साउनदेखि श्रव्यदृष्य समाचार सेवा, २०८० माघदेखि अवधी तथा २०८१ असोजदेखि मैथिली र नेपालभाषामा पनि समाचार सेवा सुरुआत गरेको छ ।
राससले गत फागुन १ गतेदेखि २०८१ माघसम्म एक लाख ६२ हजार आठ ९० समाचार सामग्री सम्प्रेषण गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा एक लाख ३८ हजार १२ समाचार सामग्री सम्प्रेषण गरेको थियो । यसवर्ष राससले २४ हजार आठ सय ७८ समाचार सामग्री बढी सम्प्रेषण गरेको छ ।