काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको पाँचौ बैठक (सिनेट) ले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले रजिष्ट्रार प्रा. श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरु छलफलसहित स्वीकृत गरिएका हुन् । प्रतिष्ठानले हाल तीनसय ३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा आगामी दिनमा चारसय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ ।
बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी–जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुनेगरी कार्यकारी परिषद्को सिफारिसमा बलीभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ ।
यस्तै, बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोग ल्याउन, कार्यकारी परिषद सदस्यमा मनोनयन र कर्मचारी सेवा, शर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानको आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को बजेट तथा कार्यक्रम तत् सयममा सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देश गर्नुभयो । उहाँले नियम, विधि र प्रक्रिया पूरागरी समयभित्रै कार्य सम्पन्न गर्ने अभ्यासमा जान आग्रह गर्दै नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउन पनि जोड दिनुुभयो ।
बैठकले आगामी बजेट निर्माणका लागि रजिष्ट्रार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं सहकुलपति प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवलगायत सहमागी हुनुहुन्थ्यो । गोरखापत्र अनलाइन