परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुन्छः सञ्चारमन्त्री गुरुङ

  फागुन ०३, २०८१

दोलखा, ३ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिमार्जनसहित सामाजिक सञ्जालसम्बन्धी विधेयक पारित हुने बताउनुभएको छ ।

आज जिरी भ्रमण वर्ष–२०२५ को उद्घाटन कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरूमा देखिएको विकृति अन्त्यका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको उल्लेख गर्दै यसले क्रियाशील पत्रकारहरूलाई समस्या नहुने बताउनुभयो । उहाँले उक्त विधेयकबाट वास्तविक पत्रकारहरू डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयकको विषयमा धेरै सुझावहरू आएकाले त्यसको आधारमा परिर्माजनसहित पारित हुने विश्वास व्यक्त गर्नुभयो । “विधेयकका बारेमा धेरै बहस र छलफल गरी सुझाव लिएका छौँ”, उहाँले भन्नुभयो, “त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझावका आधारमा परिर्माजनसहित पास गर्छौैँ ।”

सामाजिक सञ्जालहरूमा देखिएका विकृति अन्त्यका लागि विधेयक आवश्यक रहेको मन्त्री गुरुङको भनाइ छ । मुलुकको आर्थिक विकासका लागि उद्योग, व्यापार, कल–कारखाना सरकारले सञ्चालन गर्ने नभई निजी क्षेत्रले सञ्चालन गर्नुपर्ने धारणा राख्नदै उहाँले त्यसमा सरकारले नीतिगत तहबाट सहयोग गर्ने जानकारी दिनुभयो ।

मन्त्री गुरुङले जिरीको तालले यो क्षेत्रको समग्र विकासमा टेवा पुग्ने भएकाले राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै दलले एकमतका साथ ताल निर्माणमा अग्रसरता देखाउनुुपर्नेमा जोड दिनुभयो । सरकारका तर्फबाट ताल निर्माणमा आवश्यक सहयोग हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुुरुङले विकास, निर्माणमा कसैले पनि राजनीति गर्न नहुने धारणा राख्नुभयो । साझा सहमति र सहकार्यका आधारमा विकास, निर्माणका गतिविधि अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दोलखा जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलको सभापतित्वमा सम्पन्न जिरी भ्रमण वर्ष–२०२५ उद्घाटन कार्यक्रममा बागमती प्रदेशसभाका सांसद भरतबहादुर केसी, उर्मिला सुनुवार, मेलुुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कर्मा शेर्पा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठलगायत वक्ताले भ्रमण वर्षको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सबैको सहमतिमा संविधान संशोधन

यसैबीच, आज बिहान नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूूचना प्रविधिमन्त्री गुरुङले नेपाली कांग्रेस र एमालेले सबै राजनीतिक दलसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने बताउनुभयो । संशोधनका विषयहरू सहमतिमा तय गरी सबैको प्रतिनिधित्व हुनेगरी संविधान संशोधन गरिने उहाँले उल्लेख गर्नुभयो ।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा उहाँले सरकारले अध्यादेशबाट ल्याएको विधेयकहरू राजनीतिक सहमतिका आधारमा पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया