‘भूमिसम्बन्धी अध्यादेशको विरोध गर्न हुन्न’

  ५ घण्टा अगाडि

चन्द्रपुर(रौतहट), २९ माघ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले भूमिसम्बन्धी अध्यादेशको विरोध गर्नुभनेको भूमिहीन किसानको विरोध गर्नुभएको बताउनुभएको छ । रौतहटको गरूडामा एमाले जिल्ला कमिटिद्वारा आज आयोजित वडा केन्द्रित तीन महिने अभियानसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले सरकारले भूमिहीन किसानको समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको बताउनुभयो ।

अध्यादेशको विरोध गर्नेले अध्यादेशको नभएर भूमिहीन किसानको विरोध गरेको नेता ज्ञवालीको भनाइ थियो । देशमा अहिले चार लाख भूमिहीन किसान रहेको र १० लाख अव्यवस्थित बसोबास रहेको जानकारी दिँदै उहाँले यो अध्यादेशको विरोध गर्न नहुने बताउनुभयो ।

नेता ज्ञवालीले अब पार्टी आन्तरिक रूपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास दिलाउँदै एमालेमा योग्य नेताको अभाव रहेको अवस्थामा अस्वस्थ्य प्रधिस्पर्धा गर्नुपर्ने कुनै ठाउँ नभएको बताउनुभयो ।

पार्टीका स्थायी कमिटि सदस्य काशी अधिकारीले व्यवस्थित ढङ्गले पार्टी सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीले गरेका निर्णयबाट पछाडि नहट्ने र डटेर अगाडि बढ्ने जानकारी दिनुभयो ।

एमालेका स्थायी कमिटि सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीला श्रेष्ठले अब पार्टी कामको मूल्याङ्कनको आधारमा अगाडि बढ्ने बताउनुभयो । नाताबाद र कृपाबादबाट अब पार्टी नचल्ने बताउँदै उहाँले जनसङ्गठन पार्टीसँग समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया