कैलाली, २८ माघ : गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताउनुभएको छ । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गरी पास हुने बताउनुभयो ।
अध्यादेश पारित गर्न कुनै समस्या नरहेको उहाँको भनाइ थियो । उहाँले सरकार दुई दलको सम्झौताअनुसार २०८४ को निर्वाचनसम्म अघि बढ्ने बताउनुभयो । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र एमालेबीच सत्ता सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिगत रुपमा कुन नेताले कहाँ के बोल्छन त्यो राजनीतिक कुरा हो, तर सत्ता सञ्चालनमा कुनै समस्या छैन ।”