चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

  १८ घण्टा अगाडि

नेपालगञ्ज, २८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्षमा २७९ उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोजमा ३१, कात्तिकमा २८, मङ्सिरमा ३७, पुसमा ४० र माघको २७ गतेसम्ममा ३१ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औँ स्थापना दिवसको अवसरमा आज नेपालगञ्जमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले उजुरी फर्छ्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो । गत वर्ष सो कार्यालयले कूल उजुरीको ८३ दशमल ८३ प्रतिशत फर्छ्यौट गरेको थियो । सो कार्यालयको कार्य क्षेत्र लुम्बिनीका बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् ।

सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिँदै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । मन्त्री अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाबचन्द्र मौर्यलाई पुरस्कृत गर्नुभएको थियो । स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया