काठमाडौँ, २८ माघ : नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १०.९८ अंकले घट्दा परिसूचक २६७७.३२ अंकमा पुगेको हो । आज बजारमा ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बजारमा ८ अर्ब ३३ करोडको कारोबार भएको थियो ।
समग्र बजार घट्दा आज १६१ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । ७७ कम्पनीको मूल्य बढ्दा ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । घट्दो बजारबिच आज १३ वटा समूहमध्ये ११ वटा समूहको सूचकमा गिरावट आएको छ । यसमध्ये सबैभन्दा धेरै फाइनान्स समूहमा गिरावट आएको छ । अन्य समूह र व्यापारमूलक समूहको सूचक भने सामान्य बढेको नेप्सेको तथ्यांक छ ।
आज बजारमा मूल्य र कारोबार रकमका आधारमा पाँच वटा कम्पनी बढी चर्चा (हाइलइट) मा रह्यो । यसमध्ये न्यादी ग्रुप पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बोटलर्स नेपाल र उपकार लघुवित्तको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, नेपाल रिपब्लिक मिडिया बजारमा सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । कारोबार संख्याका आधारमा पनि सोही कम्पनी अगाडी देखिएका छन् ।