हाङ्थुम कप फुटबलः रामेछाप र सुनसरीबीच फाइनल खेल हुने

  ४ घण्टा अगाडि

किमाथाङ्का (सङ्खुवासभा), २५ माघ : सङ्खुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी ४६औँ आमन्त्रित हाङ्थुम कप पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि रामेछाप र सुनसरीबीच शनिबार फाइनल प्रतिस्पर्धा हुँदैछ ।

मूलखर्क रङ्गशालामा आज भएको प्रतियोगितामा रामेछापको लिखुभुजी युवा क्लब र सुनसरीको सृजना युवा क्लब धरानले फाइनलको यात्रा तय गरेका छन् । आज भएको पहिलो खेलमा सुनसरीको सृजना युवा क्लबले झापाको चुलाचुली स्पोटिङ क्लबलाई शून्यका विरुद्ध एक गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

आज भएको खेलमा सृजना युवा क्लबका तर्फबाट दोस्रो हाफको २२ औँ मिनेटमा पियङक राईले गोल गरे । उनको एक मात्रै गोलले सुनसरीलाई फाइनलमा पु¥याएको हो ।

खेलमा विवाद आएपछि केहीबेर रोकिएको थियो । चुलाचुलीले मैदान छाडेपछि रेफ्रिले सुनसरीलाई विजयी घोषणा गरेका हुन् । त्यस्तै आज भएको दोस्रो खेलमा रामेछापको लिखुभुजी युवा क्लबले धनकुटाको डाँडा बजार युवा क्लबलाई शून्यका विरुद्ध चार गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

धनकुटाको तर्फबाट सन्दिप लिम्बूले दोस्रो हापको सातौँ मिनेटमा गरेको गोलले सेमिफाइनलको यात्रा तय भएको हो । लिखुभुजीको तर्फबाट मनविच गुरुङले छैटौँ मिनेटमा एक गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । मनविचले १७औँ मिनेटमा पुनः एक गोल गरेका भने प्रविश जिमीले ५७औँ मिनेट एक र अतिरिक्त समयमा प्रवीण सुनुवारले एक गोल गर्दै रामेछापलाई फाइनलमा पु¥याएका हुन् ।

प्रतियोगिताका विजेताले रु दुई लाख २० हजार दुई सय र उपविजेताले रु एक लाख १० हजार एक सय पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र सङ्खुवासभाका गरी आठ समूह सहभागी रहेका हाङ्थुम क्लबका अध्यक्ष असिम जिमीले बताए ।

फाइनल खेल शनिबार दिउँसो १ बजे मादी नगरपालिका–३ मूलखर्कमा हुनेछ । हाङ्थुम क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावासीकरण गर्ने उद्देश्यले विसं २०३५ देखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया