विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति

  ४ घण्टा अगाडि

तनहुँ, २५ माघ : जिल्लाको भानु नगरपालिका कार्यालयले २६ जना विद्यार्थीलाई प्राविधिक शिक्षा छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिका मातहत रहेका तेह्र वटा वडाबाट दुई जनाका दरले जनही एक लाख ५० हजारका दरले छात्रवृत्ति उपलव्ध गराएको हो ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई तीनवर्षे प्राविधिक शिक्षा हासिल गर्न प्रोत्साहनस्वरूप रकम प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाले विद्यार्थीको प्राविधिक शैक्षिक गुणस्तर वृद्धिका लागि पञ्चवर्षीय योजनाका साथ योजना कार्यान्वयन गर्दै आएको छ ।

भानु नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याइएको प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) निर्माण र प्रयोग हुनुका साथै स्थानीय विषयको कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक निर्माण गरी सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ ।

कक्षा १ देखि ८ सम्म पाठ्यपुस्तक निर्माण गर्ने भानु गण्डकी प्रदेशमा पहिलो पालिका बनेको भानु नगर उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो । आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क दिने सरकारको नीतिलाई कार्यान्वयन गर्नका लागि आधारभूत तह कक्षा १–८ सम्मका सबै परीक्षाको जिम्मा भानु नगरपलिकाले लिएको छ ।

विद्यालयका सबै परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिका नगरपालिकाबाट उपलब्ध गराइने भएको छ । आधारभूत तहका बालबालिकाले परीक्षाको नाउँमा कुनैपनि शुल्क तिर्नु नपर्ने सामाजिक विकास समितिका संयोजक एवं वडा नं १० का वडाध्यक्ष हरिहर उप्रेतीले बताउनुभयो । नेपाल सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रति दिनप्रति व्यक्ति रू १५ का दरले दिवाखाजाका लागि अनुदान दिइरहेकोमा भानु नगरपालिकाले रू पाँच थप गरी प्रतिव्यक्ति रू २० पु¥याइ कक्षा ६ सम्म विस्तार गरेको छ ।

भानु नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता तथा कर्मचारीलाई नेपाल सरकारले तोके अनुरूपको न्यूनतम् पारिश्रमिक उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाका आठ वटै वडाका आफ्नै भवन

तनहुँको ऋषिङ गाउँपालिकाअन्तर्गत रहेका आठ वटा वडाका आफ्नै भवन निर्माण भएको छ । ऋषिङ–१ को झापुटारमा वडा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याएसँगै गाउँपालिकाका सबै वडा भाडामुक्त भएका हुन् । दुई ढलानको वडा कार्यालय भवन रू ९१ लाखको लागतमा निर्माण सम्पन्न गरेको हो । सोही वडामा एक हजार जना क्षमताको सभाहल रू एक करोड ५१ लाखमा निर्माण गरिएको छ ।

उक्त दुवै भवनको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । भवन निर्माणको जिम्मा बिपी कन्ट्रक्सन र हरि शान्ति कन्ट्रक्सनले पाएको थियो । एक हजार जना क्षमताको हलको लागि रू १० लाख बराबरको फर्निचर सामग्री वडा कार्यलयले प्रदान गरेको वडाध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका विकास निर्माण कार्यलाई प्राथामिकता दिएर काम गर्दै आएको गाउँपालिका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । त्यसैगरी एकादुई बाहेक सबै आधारभूत स्वास्थ्य चौकीका आफ्नै भवन निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया