ताप्लेजुङका दुई हाइड्रोपावरको विद्युत एक महिना भित्र राष्ट्रिय प्रसारण लाइनमा

  ५ घण्टा अगाडि

ताप्लेजुङ, २४ माघ : ताप्लेजुङका दुई हाइड्रोपावरबाट उत्पादित ३४ मेगावटको विद्युत करिब एक महिना भित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा उत्पादित २१.९३ मेगावाट क्षमताको काबेली-३ जलविद्युत आयोजना र हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित १२ मेगावाट क्षमताको जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने अन्तिम तयारीमा पुगेको हो ।

ताप्लेजुङमा नो केबलकार पक्षधरले गरेको यातायात बन्दको कारण निर्माण कार्य सम्पन्न हुन केही ढिला भएको छ । कम्पनीका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार आगामी दिनमा कुनै अवरोध नभए फागुन १५ गतेभित्रमा १२ मेगावटको र फागुन मसान्तमा २१.९३ मेगावाटको विद्युत उत्पादन सुरु गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

उत्पादित विद्युत १८.३५ किलोमिटरको दूरीमा रहेको पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरण अम्मरपुर सबस्टेसनमा जोडिनेछ । उत्पादनका लागि कम्पनीले वि.सं. २०७८ साल मङ्सिरमा अनुमति प्राप्त गरेको थियो ।

ढुङ्गानाका अनुसार यही खोलाको प्रयोग गरेर स्नोरिभर्स प्रालिले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ खोला जलविद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । प्रालिले गत मंसिर १६ गतेदेखि परीक्षण प्रसारण गरेर पुस ५ बाट व्यापारिक उत्पादन सुरु गरेको हो । तीनवटै जलविद्युत् आयोजना निर्धारित समयभन्दा अघि निर्माण सम्पन्न भएका हुन् । मङ्सिरमा सम्पन्न सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्झौता मिति आउँदो चैतसम्मको छ।

ताप्लेजुङका विभिन्न क्षेत्रमा आधा दर्जनभन्दा बढी कम्पनीले उत्पादन गरेका करिब एक सय ११ दशमलव ९ मेगावट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । त्यस्तै दर्जनौँ कम्पनी निर्माणधीन अवस्थामा छन् भने त्यत्तिकै कम्पनीले अनुमतिका लागि आवेदन दिएका छन् । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया