सुलीकोट, २४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो।
उहाँले जिल्लामा आयोजना गरिने मेला महोत्सवले ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई थप चलायमान बनाउन मद्दत पुग्ने भएता पनि स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई प्रर्बद्धन गर्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउनतर्फ मेला केन्द्रित हुनुपर्ने बताउनुभयो। मेला महोत्त्सवमा बाहिरबाट ल्याएर बिक्रीका लागि राखिने सामग्रीले गाउँको पैसा बाहिर जाने भएकाले पनि यहाँकै उत्पादनलाई बिक्री गरी बाहिरको पुँजी भित्र्याउने वातावरण सिर्जना गनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ।
‘‘धेरैजसो मेला महोत्सवमा पिङ, बाल उद्यानलगायतले गर्दा ग्रामीण इलाकाको पैसा बाहिर जाने गरेको छ’’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “बाहिर जाने पुँजीलाई रोक्न स्थानीय संस्कृति र परम्परा जोगाउने खालका खेल सामग्रीको प्रयोग गर्न सके बाहिर जाने पुँजी रोकिन्छ भन्ने मेरो विश्वास छ।”
कृषि उपज तथा स्थानीय कलाकारलाई प्रोत्साहन गर्नुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले घरेलु तथा साना उद्योगमार्फत प्रवर्धन र प्रोत्साहन गर्ने खालका कार्यक्रम प्रदेश सरकारले ल्याएकाले बताउनुभयो। उहाँले कृषि ज्ञानकेन्द्र, भेटनरीमार्फत् किसानका लागि लघुउद्यम अन्तर्गतका विभिन्न कार्यक्रम प्रदेश सरकारले सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
किसानले आफ्नो उत्पादनलाई व्यावसायिक बनाउँदै लैजानुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले व्यवसायिक किसानलाई प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको बताउनुभयो। नाफा परियोजनामार्फत मध्यपहाडी लोकमार्ग अन्तर्गतका कृषकलाई मासु लक्षित कार्यक्रम अन्तर्गत पालुङटारको ६ वटा वडालाई समेटेर प्रदेश सरकारले बाख्रा विकास कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरेको उहाँको भनाइ छ।
प्रदेश सरकारले अहिले उत्पादनको आधारमा अनुदान दिने र बिक्री भएन भने बजारको ग्यारेन्टी पनि प्रदेश सरकारले जिम्मा लिने बताउदैँ उहाँले किसानलाई उत्पादनमा लाग्न आग्रह गर्नुभयो। स्थानीय कृषि उत्पादन बढाउन सरकारले ध्यान दिएको स्पष्ट पार्दै मुख्यमन्त्री पाण्डेले किसानलाई सामूहिक खेती लाग्न आग्रह गर्नुभयो। गोरखापत्र अनलाइन