भेडी गोठ आगलागीमा ६० भेडा मरे

  ४ घण्टा अगाडि

कालीकोट, २४ माघ : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १० का एक किसानको भेडा गोठमा आगलागीमा ६० भेडा जलेर मरेका छन् । मगलबार राती अबेर वडा नं १० को सेरी स्थित गोठमा आगो लागेको र आगोले रानावाडाका काले रानाका ६० भेडा जलेर मरेका हुन् ।

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रवादुर शाहीले रानाको भेडी गोठमा आगो लागेर यति धेरै भेडा मर्नु दुःखद भएको बताउनुभयो । चिसोका कारणले गोठमा आगो बालेको र त्यही आगो गोठमा सल्केका कारणले भेडा जलेको अनुमान उपप्रमुख शाहीको छ । तर आगलागीको कारण भने खुलेको छैन ।

हिउँदको समय सकियसँग वनदेखि घरमा आगो लाग्ने घटना बढ्दै आएका छन् । कालीकोटका विभिन्न सामुदायिक वनमा आगो सल्केर वन नष्ट भइरहेका छन् भने उता तिलागुफा नगरपालिका वडा नं १० को रानावाडामा भेडीगोठ जलेर पूरै भेडाको बथानै सकिएको छ । गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया