‘अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित’

  ६ घण्टा अगाडि

नैरोबी, २२ माघ : सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिकरूपमा विस्थापित व्यक्ति (आईडीपी) को सङ्ख्या बढेर दुई करोड ७५ लाख पुगेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्र आप्रवासन एजेन्सीले अक्टोबर सन् २०२४ मा यो सङ्ख्या दुई करोड ४२ लाखबाट बढेको बताएको छ ।

“सुडानमा आईडीपीको वृद्धि देशका धेरै राज्यमा चलिरहेको द्वन्द्व तथा भारी वर्षा र आगलागीका कारण भएको हो,” आईओएमले जनाएको छ ।

एजेन्सीले गत वर्ष अक्टोबर २० र नोभेम्बर १३ को बीचमा अल जजीरा राज्यमा सुडानी सशस्त्र बल र र्‍यापिड सपोर्ट फोर्सहरू बीचको झडपका कारण अनुमानित ६८ हजार ८०१ परिवार विस्थापित भएको उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीले कथित रूपमा सात विभिन्न राज्यका ३८ क्षेत्रमा व्यक्तिहरू विस्थापित भएको बताएको छ । “विस्थापित व्यक्तिमध्ये, १५ हजार १२९ आईडीपी थिए,” आईओएमले उल्लेख गर्‍यो ।

आईडीपी जनसङ्ख्याको उच्च सङ्ख्या भएका अन्य देशमा सोमालिया ३५ लाख, इथियोपिया ३३ लाख र दक्षिण सुडान २० लाख छन् ।

आईओएमका अनुसार विस्थापनका मुख्य कारण विशेषगरी इथियोपिया, केन्या र सोमालियामा द्वन्द्व, बाढी, खडेरी र खाद्यान्न असुरक्षा हुन् । रासस, सिन्ह्वा

तपाईको प्रतिक्रिया