माओवादी पार्टीमा जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल

  ५ घण्टा अगाडि

ढोरपाटन (बागलुङ), २२ माघ : पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताउनुभएको छ । बागलुङमा आज आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताउनुभयो ।

विगतका कमीकमजोरीलाई समीक्षा गरेर माओवादी केन्द्र अगाडि बढेको हुँदा वडा तहबाटै सङ्गठन राम्रो हुँदै गएको अध्यक्ष दाहालको भनाइ छ । पछिल्लो समय सात वटै प्रदेशबाट माओवादी केन्द्रमा आउने नेता तथा कार्यकर्ताको सङ्ख्या ठूलो रहेको भन्दै उहाँले अब पहिलो पार्टी बन्न धेरै समय नलाग्ने दाहालले दाबी गर्नुभयो ।

पछिल्लो समय माओवादीका लागि ठूलो अवसर आएको भन्दै अध्यक्ष दाहालले सरकारलाई सही बाटोमा ल्याउन विपक्षी दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । जनस्तरबाटै माओवादी सरकारले गरेका कामको प्रशंसा हुन थालेकाले कार्यकर्ताले राम्रो कामको प्रचार गर्नुपर्नेमा उहाँको जोड छ ।

माओवादीनै परिवर्तनको वाहक भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले माओवादी सरकारले गरेका सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र भ्रष्टाचार विरोधका पक्षमा जनताको चासो रहेको हुँदा सङ्गठन निर्माणमा थोरै मेहनत गरे पार्टीलाई पहिलो बनाउन समस्या नहुने बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया