म्याग्दी,२२ माघ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा देशव्यापीरुपमा जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ। मङ्गलबार बेनीमा नेकपा (माओवादी केन्द्र) म्याग्दीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो।
आफू तेस्रो पटक १८ महिना प्रधानमन्त्री हुँदा मुलुकमा सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेका कदमलाई जनतामा स्थापित गर्न माओवादीले देशव्यापी रुपमा खबरदारी सभामार्फत अभियान सञ्चालन गरेको बताउनुभयो।
सरकारको नेतृत्व गर्दा दुई ठूला शक्ति देशसँग सन्तुलित सम्बन्ध बनाएको उहाँको दाबी छ। सरकारमा हुँदा भएका राम्रा कामलाई लिएर पार्टी जनतासमक्ष आएको उहाँको भनाइ थियो।
अध्यक्ष प्रचण्डले विगतमा आफ्नो तर्फबाट केही गल्ती भएको र अहिले निर्मम भएर त्यसलाई सच्याएर फेरि जनताका माझ फर्किएको बताउनुभयो। विगतका गल्ती कमजोरी सच्याउँदै पार्टीलाई बलियो शक्ति बनाउने सङ्कल्प लिएर जनतामा फर्किएको अध्यक्ष प्रचण्डको भनाइ थियो।
सरकारबाट हटेपछि हिमाल, पहाड र मधेशमा पुग्दा माओवादीलाई जनताको साथ भएको उहाँले दाबी गर्नुभएको छ।
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले म्याग्दीमा सुरु भएका विकास योजनालाई पूर्णता दिन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो। खबरदारी सभामा पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेल, म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जाली र हरि भण्डारीलगायतले सभालाई सम्बोधन गर्नुभयो। गोरखापत्र अनलाइन