काठमाडाैं, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताउनुभएको छ । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको जानकारी गराउनुभयाे । उहाँले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताउनुहुँदै उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरू, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छाैं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरू जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’
प्रधानमन्त्री ओलीले सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाउनुभयो । गोरखापत्र अनलाइन