खार्तूममा भीषण झडप, कम्तीमा ५६ जनाको मृत्यु

  ४ घण्टा अगाडि

पोर्ट सुडान, सुडान, १९ माघ (रासस/एएफपी) : सुडानको ग्रेटर खार्तुममा शनिबार भएको गोलाबारी र हवाई आक्रमणमा परी कम्तीमा ५६ जनाको मृत्यु भएको चिकित्सा स्रोत र सुडानी अधिकारकर्मीले बताएका छन् ।

सुडानको नियमित सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) सन् २०२३ अप्रिलदेखि सत्ताका लागि लडिरहेका छन । यो महिना सेनाले राजधानी खार्तूम र यसका सबै भगिनी शहरहरू ओमदुरमान र खार्तूम नर्थ कब्जा गर्न कारबाहीलाई सशक्त बनाएको छ ।

ओमदुरमानको व्यस्त बजारमा आरएसएफले शनिबार गरेको गोलाबारीमा ५४ जनाको मृत्यु भएको एक मेडिकल स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

“तरकारी बजारको बीचमा विस्फोटक गोला प्रहार भएको थियो । पीडित र घाइतेको सङ्ख्या सङ्कलन भइरहेको र कतिपय घाइतेलाई आफन्तले विभिन्न अस्पतालमा लगेका कारण पीडित र घाइतेको सङ्ख्या थप बढ्नसक्ने अनुमान गरिएको छ,” प्रत्यक्षदर्शी एक घाइते व्यक्तिले एएफपीलाई बताए।

स्थानीय सङ्कटकालीन सेवा (इआरआर) का अनुसार खार्तूमको नाइल नदीमा आरएसएफको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परी दुई सर्वसाधारणको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

आरएसएफले शनिबारलगायतका आक्रमणमा ड्रोनको प्रयोग गरेको भए पनि नियमित सशस्त्र बलका लडाकु विमानले हवाई आक्रमणमा एकाधिकार कायम राखेका छन् ।

ईआरआर सुडानमा आपतकालीन हेरचाहको समन्वय गर्ने सयौँ स्वयंसेवक समितिहरूमध्ये एक हो।

युद्धले हजारौँ मानिसको ज्यान लिनुका साथै एक करोड २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र अधिकांश स्वास्थ्य संस्थाहरू सेवाबाट वञ्चित हुन बाध्य भएका छन्।

अल–नाओ अस्पतालका एक स्वयंसेवकले एएफपीसँग भन्नुभयो, “घाइतेहरूलाई लैजान कफन, रक्तदाता र स्ट्रेचरको चरम अभाव छ।”

तपाईको प्रतिक्रिया