अरब विदेशमन्त्रीद्वारा प्यालेस्टिनी वस्तीलाई हटाउने प्रस्ताव अस्वीकार

  ५ घण्टा अगाडि

कायरो, १९ माघ (रासस/एएफपी) : इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स( युएई), साउदी अरब र कतारका उच्च कूटनीतिज्ञले शनिबार कायरोमा भएको एक बैठकमा प्यालेस्टिनी नागरिकलाई जबर्जस्ती विस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरूलाई गाजा पट्टीबाट इजिप्ट र जोर्डनमा स्थानान्तरण गर्ने विचार अघि सारेपछि यो बैठक भएको हो।

विदेशमन्त्रीहरूले ‘नयाँ बस्ती बसाल्ने, प्यालेष्टिनी समुदायलाई निष्कासन गर्ने, घर भत्काउने, कब्जा गर्ने, विस्थापन गर्ने, प्रोत्साहित स्थानान्तरण वा प्यालेस्टिनीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती हटाउनजस्तो प्यालेस्टिनी नागरिकको ‘अविभाज्य अधिकारको उल्लङ्घन’ अस्वीकार गरेका छन् ।

इजिप्ट र जोर्डन दुवैले गाजा पट्टीलाई ‘सफा’ गर्ने ट्रम्पको प्रस्तावलाई बारम्बार अस्वीकार गर्दै आएका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीले प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट विस्थापन गर्नु अन्याय भएको र यसमा आफूहरू सहभागी हुन नसक्ने बताउनुभएको छ ।

अरब विदेशमन्त्रीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग मिलेर मध्यपूर्वमा न्यायपूर्ण र बृहत् शान्ति स्थापनाका लागि काम गर्न आफूहरु आतुर रहेको बताएका छन् ।

बैठकमा अरब लिगका महासचिव अहमद अबुल घेइत र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसनको कार्यकारी समितिका महासचिव हुसेन अल शेखसमेत सहभागी थिए ।

इजरायलले प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसङ्घको मुख्य सहायता निकाय युएनआरडब्लुएसँग सबै सम्बन्ध तोडेको घोषणाको दुई दिनपछि मन्त्रीहरूले पनि एजेन्सीको ‘निर्णायक, अपरिहार्य र अपूरणीय भूमिका’ को पुष्टि गर्दै ‘यसलाई नजरअन्दाज गर्ने वा यसको भूमिकालाई सीमित गर्ने कुनै पनि प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गरे’।

तपाईको प्रतिक्रिया