सांस्कृतिक विविधताको संरक्षण र विकास साझा दायित्वः प्रदेश प्रमुख भट्ट

  ४ घण्टा अगाडि

गण्डकी, १९ माघ : गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको साझा दायित्व रहेको बताउनुभएको छ ।

तामाङहरूको महान पर्व २८६१औँ सोनाम ल्होसारका अवसरमा तामाङ बौद्ध सेवा समिति पोखराद्वारा आज आयोजित ल्होसार विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले हाम्रो विविधता र सांस्कृतिक परम्परा नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि महत्वपूर्ण पुँजी भएको बताउँदै यसको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो ।

भाषा, संस्कृति, वेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भ रहेको उल्लेख गर्दै उहाँले यस्ता विविधताको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

यस पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान पर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने प्रदेश प्रमुख भट्टले विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो धर्म र जातीय सांस्कृतिक मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको भन्दै उहाँले यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाको काँधमा रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा तामाङ बौद्ध सेवासमितिका अध्यक्ष विष्णुु योञ्जन, प्रतिनिधिसभाका सांसद मनबहादुर गुरूङ, तामाङ घेदङुका सङ्घीय उपाध्यक्ष दीपक तामाङ, तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त योञ्जनलगायतले सोनाम ल्होसारको महत्वका विषयमा धारणा राख्नुभएको थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार तामाङ जाति जनसङ्ख्याका हिसाबले पाँचौँ नम्बरमा पर्दछ । कूल जनसङ्ख्याको पाँच दशमलव छ प्रतिशत तामाङ जाति नेपालमा बसोबास गर्दछन् भने पाँच दशमलव पाँच प्रतिशतले तामाङ भाषा बोल्दछन् । धर्मअनुसार बौद्ध धर्मावलम्बी दोस्रो नम्बरमा छन् । आठ दशमलव दुई प्रतिशत जनसङ्ख्या बौद्ध धर्म मान्ने राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले देखाउँछ । रासस

तपाईको प्रतिक्रिया