विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

  ५ घण्टा अगाडि

झापा, १८ माघ : मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रुपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताउनुभयो ।

उहाँले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौं ।”

उहाँले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुलीबत्तीका लागि रु दुई लाख ७५ हजार बजेट विनियोजन गरेको बताउनुभयो । आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रुपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताउनुभयो ।

प्रतिघरमा रु दश हजार ५०० खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उहाँको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहँुच पुगेको छ ।

शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भन्नुभयो, “वडाध्यक्ष हाम्रो भगवान जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिनुभयो ।” अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पुर्याइदिने व्यवस्था मिलाइदिएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया