आयोजक बागमतीलाई हराउँदै सङ्कटा च्याम्पियन

  ८ घण्टा अगाडि

काठमाडौँ, १७ गते माघ : आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनलमा सङ्कटाले बागमतीलाई सडन डेथमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा सङ्कटाले सडन डेथमा बाजी मारेको हो । टाइब्रेकरमा बागमतीका गोलरक्षक दीप कार्की नायक बन्दा बागमती भाग्यमानी बन्यो ।

टाइब्रेकरमा सङ्कटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की , सुनिल खड्काको प्रहार सफल भएको थियो । राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले बचाउनुभयो ।

यता बागमतीका नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीपले विफल पार्नुभएको थियो । रजत तिवारीको प्रहार पोस्टमाथि हुईकिएपछि बागमती स्तब्ध बन्यो ।

उपाधिसँगै सङ्बटाले २६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता बागमतीले १३ लाख रुपियाँमा चित्त बुझायो । सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यस्तै प्रतियोगितामा विजेता सङ्कटाका कप्तान एवं गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उहाँले ७५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाका अबेकाह रिचार्ड, न्युरोड टिम (एनआरटी) का अन्जन बिष्ट र कृतिशरत्न छुन्जुले पाउनुभयो ।

दुई गोल गर्न सफल तीनै जनाले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजक बागमतीका विकेश कुथु चुनिनुभयो । उहाँले पनि ५० हजार रुपियाँ हात पार्नुभयो । बागमतीका सन्दीप कार्की उदयीमान खेलाडी बन्दै २५ हजार रुपियाँ हात पार्नुभयो ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए ।

विजेतालाई नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गर्नुभयो । गोरखापत्र 

तपाईको प्रतिक्रिया