दमक, १६ माघ : भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो पटक १० रुपियाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
गतबर्ष झै मूल्य पाइन्छ भनेर फुलकोपी लगाएको तर अहिले मूल्य नपाएर बिजोग भएको झापाका अगुवा किसान रत्न भट्टराईले बताउनु भयो । स्थानीय हटियाहरूमा साँझको समयमा २५ रुपियाँमा ३ केजीसम्म फुलकोपीको बिक्री हुन थालेपछि किसानले लगाएको फुलकोपीको मूल्य पाउन छाडेका हुन् ।
दश रुपियाँ प्रतिकेजी समेत फुलकोपी उठाउन मान्दैनन्, भट्टराईले भन्नुभयो । गतबर्ष खेतबाट नै २० देखि ३० रुपियाँ प्रतिकेजी बिक्री भएको उहाँले बताउनु भयो । हाटबजारमा कोपीको मूल्य सुन्दा हामी अचम्मित हुन्छौ, उहाँले भन्नुभयो । विषादी रहित फुलकोपी उत्पादन गर्दा लागत मूल्य नै धेरै बढी हुने भएकाले लागत मूल्य उठाउन नै मुस्किल बनेको उहाँको गुनासो छ ।
झापामा वार्षिक रूपमा ३ हजार हेक्टरमा ५० हजार मेट्रिक टनभन्दा बढी फुलकोपी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले सब्जी खेतीमा मल, बीउ र प्राविधिक सहयोग गरेर उत्पादनमा बढवा दिन खोजे पनि बजार सुनिश्चित गर्न नसक्दा किसानहरू निराश बन्न थालेका छन् ।