प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत

  माघ १६, २०८१

काठमाडौं, १६ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लिखत विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टङ्क बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भन्नुभएको थियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भए पछि मन्त्री पौडेलले मङ्गलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउनुभएको हो ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद बैठकमार्फत स्वास्थ्य बिमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गर्दै पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउनुभएको थियो । प्रतिवेदनमा पाँच लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसदको अधिवेशनमार्फत स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया