तुलसीपुर, १५ माघ : तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
‘‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरू छन् । ती विधाहरूलाई समान रूपमा प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरूमा जोड दिएको छ’’ उहाँले भन्नुभयो, ‘‘खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारको पहिलो प्राथमिकताभित्र पर्दछ ।’’
उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवर्द्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । ‘‘नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउनु भयो । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘आर्थिक समृद्धिको आधारको रूपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’’
प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।