धरान (सुनसरी), १२ माघ : इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्नुहुन्छ । उहाँ पूजाका लागि दन्तकाली मन्दिरमा जानुहुन्छ । “दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको समयमा म सधैँ दन्तकाली मन्दिरमा पूजा गर्न आउँछु, यहाँ आएर पूजा गर्न पाउँदा मन प्रशन्न हुन्छ”, उहाँले भन्नुभयो ।
धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा स्वास्थानीको व्रत सुरु भएपछि बिहानैदेखि दर्शननार्थीको भीड लाग्ने गरेको छ । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण मन्दिरमा पूजा गर्ने भक्तजनको बाक्लो उपस्थितिका कारण भिड लाग्ने गरेको छ ।
मन्दिरका पूजारी विश्वराज खनालका अनुसार स्वस्थानीको समयमा व्रतको अवधिमा मन्दिरमा दर्शन गर्नका लागि आउनेको भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “स्वस्थानी सुरु भएपछि हिजोआज मन्दिरमा बिहानैदेखि पूजा गर्नका लागि भक्तजन आउने गरेकाले मन्दिरमा व्रतालुको भिड लाग्ने गरेको छ ।”
मन्दिरमा दर्शन गर्न आउनुभएका धरान–१६ का राधिका भट्टराईले आफू पनि दैनिकजसो मन्दिर आउने गरेको बताउनुभयो । “यस मन्दिरमा पूजाआज गर्दा मनले चिताएका कुरा पूरा हुँदै गएको छ त्यसैले फुर्सद हुँदा सधँैजसो मन्दिर आउने गर्छु”, उहाँले भन्नुभयो ।
विराटनगरका कमला खत्री पनि स्वस्थानी व्रतको अवसरमा मन्दिरमा दर्शन गर्न आएको बताउनुभयो । विराटनगरकै मिनु बस्नेत पनि कमला जस्तै स्वस्थानीको अवसरमा दर्शन गर्न दन्तकाली मन्दिर आएको बताउनुहुन्छ ।
स्वस्थानी व्रतकथा अनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवीले पति महादेवको निन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हामफालेर प्राणत्याग गरेपछि शोकमा पर्नुभएका महादेव सतीदेवीको मृत शरीर आफ्नो काँधमा बोकेर भौँतारिदै हिँड्ने क्रममा सतीदेवीको शरीरका अङ्ग खसेको ठाउँमा शक्तिपीठ स्थापना भयो । यही क्रममा विजयपुरको पर्वत खण्डमा सतीदेवीको दाँत पतन भएको स्वस्थानी व्रतकथामा उल्लेख भएको पाइन्छ ।
यस ठाउँमा यसरी दाँत पतन भएको स्थानलाई दन्तकालीका रुपमा परापूर्वविश्वास छ । स्वस्थानी व्रतकथामा उल्लेखित स्थल भएकाले पनि शक्तिपीठको रुपमा दन्तकालीको विशेष महत्व रहेको बुढापाकाको भनाइ छ । यहाँको शक्तिपीठ कथा सुनेर महत्व बुझेका नेपाल भारतलगायत टाढाटाढाबाट दर्शन गर्नका लागि दर्शनार्थी यहाँ आउने गरेको पूजारी विश्वराज खनालको भनाइ छ । अहिले यस मन्दिरमा आठजना पूजारी हुनुहुन्छ ।
पूजारी कमल भट्टराईका अनुसार अहिले यस मन्दिरमा दैनिकजसो दुई सयभन्दा बढी दर्शनार्थी आउने गरेका छन् भने शनिबार र मङ्गलबार पाचँदेखि सात सयको हाराहारीमा दर्शनार्थी आउने गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दन्तकाली मन्दिरमा प्रत्येक वर्ष चार वटा नवरात्र जसमा असोज, माघ, चैत र असार महिनामा विधिवत् रुपमा पूजाअर्चना गर्ने गरिन्छ । त्यसमध्ये पनि विजयादशमीको नवरात्रिमा मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । घटस्थापनाका अष्टमी, नवमी र दशमीका दिन मन्दिरमा पूजा गर्ने भक्तजनको ठूलो भिड हुने गर्छ । जुन समयमा दन्तकाली मन्दिरमा पूजाआराधना गर्दा मनोकामना पूरा हुने, निरोगी रहने, दुःख हट्ने, शत्रु नाश हुने जस्ता जनविश्वास रहिआएको छ ।
दन्तकाली मन्दिरको स्थापना कहिले भयो र यहाँ कहिलेबाट पूजा गर्न सुरु गरियो भन्ने तिथिमिति भने अहिलेसम्म उल्लेख छैन, तर स्वस्थानी व्रतकथा र पुराणहरुमा उल्लेख भएकाले यस मन्दिरलाई निक्कै पुरानो मन्दिरको रुपमा लिनुका साथै पौराणिक तथा धार्मिकस्थलको रुपमा चिनिने गरिन्छ । दन्तकाली मन्दिरमा सयौँ वर्षदेखि खनाल थरका पूजारीले पूजा गर्दै आउनुभएको छ । यहाँका खनालसँग १८६८ सालमा राजा गीर्वाणयुद्ध विक्रम शाहले दिएका ताम्रपत्र, लालमोहर छन् । दन्तकाली मन्दिरका मूल पूजारी विश्वराज खनाल आफू आठौँ पुस्ताको पूजारी भएको बताउनुभयो । उहाँका अनुसार यस मन्दिरमा पूजारीको रुपमा भने खनालहरु भने १५०२ सालतिर आएको उहाँको भनाइ छ ।
धरान घुम्न आउने पर्यटक प्रायःजसो धरानको मुख्य बजार भानुचोकबाटमाथि उक्लिएर दन्तकाली मन्दिरको दर्शनसँगै धरानको रमणिय दृश्य अवलोकन गर्ने गरेका छन् । धरान बजारको शिरानमा रहेको विजयपुर डाँडामा दर्जनौँ मन्दिर छन् जसका कारण विजयपुर धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा परिचित रहेको छ ।
विजयपुरडाँडा धरानको शिर हो जहाँ धार्मिकस्थल र मठमन्दिर प्रशस्त रहेका कारण यस ठाउँलाई एकीकृत रुपमा विकास गर्न सके नेपाल र भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या अझ बढ्ने धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो ।