यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ

  माघ १२, २०८१

लमजुङ, १२ माघ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ ।

सरकार ढल्छ भनेर विपक्षी दलबाट चलाइएको हल्ला निराधार भएको मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । शनिबार गृहजिल्ला लमजुङको दोर्दी –६, कृर्तीपुरस्थित भगवान आधारभूत विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले आफ्ना कार्यकर्तालाई भुलाउन विपक्षी दलले सरकार ढल्ने हल्ला चलाएको बताउनुभयो ।

“साना पार्टीले हल्ला चलाउँदैमा सरकार ढल्नेवाला छैन । तत्काल केही हुनेवाला छैन । प्रतिपक्षमा बसेका दलका नेताहरूले चलाएको हल्ला मात्र हो” मन्त्री गुरुङले भन्नुभयो, “जबसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच समझदारी भइरहन्छ, तबसम्म कसैले पनि केही गर्न सक्दैन ।”

उहाँले मुलुकमा अस्थिरता चाहने शक्तिले पनि सरकारबारे नकारात्मक हल्ला चलाएको बताउनुभयो । विगतदेखि नै मुलुकमा सङ्कट पर्दा कांग्रेस र एमाले मिलेर पार लगाएको इतिहास रहेको मन्त्री गुरुङले बताउनुभयो । २०४६ सालदेखि आजसम्मको परिवर्तन आउनुमा कांग्रेस एमाले मिलेर नै सम्भव भएको उहाँले बताउनुभयोे । अहिले पनि मुलुक सङ्कटकै अवस्थामा रहेकाले दुई ठुला दलहरू मिलेर सरकार बनाउनुपरेको उहाँले प्रष्ट पार्नुभयो ।

“२०७७ सालमा जब केपी शर्मा ओलीको सरकार ढल्यो । त्यसपछि मुलुकमा जुन खालको अस्थिर खेलमा राजनीतिक दलहरू लागे, मुलुकको दुर्भाग्य त्यही दिनबाट सुरु भयो” उहाँले भन्नुभयो, “त्यही दुर्भाग्यले गर्दा अहिले पनि मुलुकको शासकीय अवस्था कमजोर बनिरहेको छ । साढे १८ खर्ब बजेटमा तीन खर्ब विकास बजेट पनि खर्च हुन नसक्ने अवस्था छ । त्यसलाई सुधार गर्नका लागि, शासन प्रणालीमा सुधार गर्न यो सरकार बनेको हो ।”

उहाँले अबका दिनमा शासकीय क्षेत्रमा व्यापक सुधार आवश्यक छ भन्ने कुरा छ महिनाभित्र सरकारले महसुस गरेको बताउनुभयो । उहाँले सरकारले ल्याएको नयाँ विधेयकले पुराना नीति तथा ऐनहरू परिवर्तन भएकाले अबका दिनमा शासकीय प्रणालीमा व्यापक सुधार आउने दाबी गर्नुभयो ।

“विभिन्न १३ वटा पुराना कानुनलाई सुधार गर्दै नयाँ अध्यादेश ल्याएका छौं” उहाँले भन्नुभयो, “यो अध्यादेश भए पनि शासकीय प्रणालीमा सुधार हुन्छ । सुशासन कायम हुन्छ । उद्योग व्यवसाय र अर्थतन्त्रमा देखिएको समस्यामा सुधार हुँदै जान्छ ।”

तपाईको प्रतिक्रिया