तटबन्ध निर्माणसँगै जग्गाधनी आन्दोलित

  ६ घण्टा अगाडि

कुसुमटार (सिन्धुली), १० माघ : राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण सुरुसँगै जग्गाधनीहरु आन्दोलित बनेका छन् ।

आयोजनाले पहिले खोलाको बहाव क्षेत्रमा तटबन्ध नगरी हाल खोला हिंडिरहेको जग्गाधनीको जग्गामा तटबन्ध सुरु गरेपछि आफूहरु आन्दोलित हुनु परेको जग्गाधनीहरुको गुनासो छ । आयोजनाले सुनकोशी नदीको पानी सुरुङमार्फत मरिण खोलामा मिसाउँदा मरिण क्षेत्रको उर्बर जमिन डुबान र कटानमा पर्ने भएकाले दुबै किनारमा तटबन्ध निर्माण थालेको छ ।

हाल मरिण खोला बगिरहेको क्षेत्रलाई आधार मानी तटबन्ध गर्दा आफूहरु सुकुम्वासी हुने भन्दै आयोजना प्रभावित क्षेत्रका किसानले पहिलेको खोला हिंडे(नक्सा अनुसार)को ठाउँ अनुसार तटबन्ध निर्माणको माग गर्दैै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

कमलामाई नगरपालिका–१ निवासी किसान नरेश ढकाल नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा तटबन्ध निर्माणको माग गर्दै आफूहरु आन्दोलित हुनुपरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीहरु विकास विरोधी होइनौं । नक्सा अनुसार पहिले खोला हिँडेको ठाउँमा खेत बिराएर अर्काले बाली लगाएर उपभोग गरिरहेको छ । अहिले खोला बगिरहेको ठाउँमा हामीले बर्सेनि कर(तिरो) तिरिरहेका छौं ।’’

नक्सा अनुसार खोला हिँडेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्नुपर्ने स्थानीय किसानको माग रहेको उहाँले जानकारी दिनुभयो । ‘‘अहिले खोलो बगेको ठाउँलाई आधार मानी तटबन्ध निर्माण गर्दा दुई/तीन बिघाका मालिक रहेका किसान पनि सुकुम्वासी हुने अवस्था आएको छ,’’ उहाँले भन्नुभयो, ‘‘नक्सा अनुसार खोलाको भाग छुट्याएर तटबन्ध निर्माण गरौं । नपुगे खोलाको दुबै किनारबाट सबैलाई न्याय हुने गरी तटबन्ध गरौं भन्ने मात्र हाम्रो माग हो ।’’

सोही ठाउँका अर्का किसान प्रतिमान बम्जनले आयोजनाले जबर्जस्ती काम गरे पीडित किसान न्यायको माग गर्दै सर्वोच्च अदालतसम्म जाते तयारी गरिरहेको बताउनुहुन्छ । आयोजनाले तटबन्ध निर्माणका लागि प्रभावित क्षेत्रमा किसानको जग्गामा रातो रिबन बाँधेर किला ठोकेर रेखाङ्कन गरेको र ती किला पीडित किसानले उखेलेर फालिदिएको उहाँले बताउनुभयो ।

‘‘आयोजना आयो, हामीलाई धेरै खुसी लागेको छ,’’ उहाँले भन्नुभयो, ‘‘यो आयोजना पहिले नै आउनुपर्दथ्याे, ढिला आयो । तर आयोजनाको काम सुरु भएसँगै आफूहरु सुकुम्बासी हुने भएपछि आन्दोलित हुनुपरेको हो ।’’

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका अनुसार सुनकोशीको पानी मरिण खोलामा खस्ने कुसुमटारदेखि बागमती नदीसम्म मरिण खोलाको बहाब क्षेत्र करिब ४० किलोमिटर लम्बाइमा छ प्याकेजमा दुबै किनारामा तटबन्ध सुरु भएको छ ।

गत वर्ष पहिलो प्याकेजअन्तर्गत दुई किलोमिटर तटबन्ध गर्न काम सुरु भइसकेको छ । हाल दोस्रो प्याकेजअन्तर्गत छ किलोमिटर तटबन्ध गर्ने तयारी भइरहेको छ सुनकोशी नदीको पानी मरिण खोलामा मिसाउँदा डुबान र कटान हुने क्षेत्र पहिचान गरी त्यहाँ तटबन्ध गरेर जग्गाको सुरक्षा गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बद्री कार्कीले संवेदनशील क्षेत्र पहिचार गरी ती ठाउँमा तटबन्ध निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । तटबन्ध निर्माण कार्य पनि स्थानीय समुदायको सहमतिमा वरपर सार्न सकिने उहाँले स्पष्ट पार्नुभयो ।

पहिलो प्याकेज जय माँ स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभि निर्माण कम्पनीसँग सम्झौता भई निर्माण कार्य सुरु भएको र उक्त कार्य मूल्य अभिवृद्धि करसहित सात करोड १३ लाख ४७ हजार ३९१ रुपियाँमा ठेक्का सम्झौता भएकाे आयोजनाले जनाएको छ ।

दोस्रो प्याकेजका लागि स्रोत सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयमा फाइल गएको र स्रोत सुनिश्चित भएपछि यो वर्ष ठेक्का सम्झौता हुने आयोजना प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुनकोशी तथा तामाकोशीको दोभानभन्दा नौ सय मिटर तल सुनकोशी नदीमा करिब ३० मिटर अग्लो र  एक सय ५८ मिटर  लामो बाँध निर्माण गरी पानी बग्ने ५ दशमलव ५ डायमिटरको १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिणखोलामा खसालिने योजना छ ।

उक्त आयोजनाअन्तर्गत ३१ दशमलव सात मेघावाट विद्युत् उत्पादन गर्ने र सुनकोशी नदीको पानीलाई बागमती सिँचाइ आयोजनामा पुर्‍याई तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि नै सिँचाइ सुविधा पुर्‍याउने मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया