बिशाल सुनार
दुल्लु, ९ माघ :
“पटुकीले बाँधे झै फेरो, यसैगरी बाधिदेउ मन मेरो,
भेरी र कर्णाली
कहिले कसो मयाको गाउँतीर,
मै आउनु पर्लानी ”
सर्जक शक्ति चन्दको शब्दमा, सङ्गीत र स्वरमा शान्तिश्री परियारको मायावी आवामा सजिएको दोहोरी गितको बोलले कुईने दोभानको परिवेश बोकेको छ । भेरी, कर्णालीका साहित्यमा, संस्कृतिमा, देउडा खेलहरुका मात्र हैन सेती महाकालीको भाकाहरुमा समेत नदिको जलप्रवाह र निर्मल, कञ्चन र उर्ग भेलका कथाहरु बुनिएको पाइन्छ । त्यस्तै तिलक गन्धर्व लेख्नुहुन्छ ।
“सलल.. बगेको भेरी नदी, उर्लदै कर्णालीमा भेल
मै बुझ्न सकिन जिन्दगीमा ए हजुर पिरतीको खेल”
अर्जुन सुनाम र टिका पुनको आवाजमा निक्कै रुचाइएको झ्याउरे गीतले भेरी र कर्णालीको आलिङ्गगनलाई झल्काएको छ । भेरी र कर्णालीको संघर्षकै परिणाम हुन चुरे क्षेत्रभित्र बसेका सुन्दर उब्जाउ फाटहरु, मैदानहरु, जङ्गलहरु र मानव बस्तीहरु । चुरे र महाभारत पर्वत ऋङ्खला भित्र फैलिएको बिशाल फाँट आफैँमा निक्कै आकर्षक छन् ।
कैलाली चिसापानीदेखि केहि मिनेटमै पुग्न सकिने यस क्षेत्र सुदूरपश्चिम प्रदेशलाई कर्णाली प्रदेशसँग जोड्ने सबैभन्दा द्रुत मार्ग हो । अहिले किनारका सबै गाउँहरु सडक सञ्जालसँग जोडिएको छ ।
भेरी र कर्णालीको भव्य बिस्तारलाई पार गर्ने यस क्षेत्रमा मात्र ३ वटा मोटरेवल पुलहरु निर्माण सम्पन्न भएपछि गुम्नाम क्षेत्रले बजार पाउन थालेको छ । नया गन्तव्य समेत बन्न पुगेको छ । घाटगाउँमै व्यवसाय गरेर बसेका भद्रबहादुर शाही भन्नुहुन्छ “सडकले सम्भावनाको ढोका खोलिदिएको छ । तर सरकारको नजर पुग्न सकेको छैन ।” साथै उहाँले अगाडी थप्नुहुन्छ “सडकलाई भरपर्दो बनाई व्यवस्थित बस्ती विकासको खाका चाहिन्छ ।”
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुईने गाउँ, चौकुने गाउँपालिका ९ घाटगाउँ र कैलालीको मोहन्याल गाउँपालिका ७ वडाको सुन्दर गाउँसँग जोडिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्णाली चिसापानीको पुलसम्म पुग्नेहरुका लागि नयाँ गन्तव्य बन्ने प्रचुर सम्भावना छ । आकाश, हिमाल, पहाडका जडिबुटि तप्कनीबाट निस्केको कञ्चन नदिमा पानी हैन निलम नै बगेको जस्तो देखिन्छ ।
पहिले चाहेर पनि पुग्न कठिन थियो अहिले इच्छा भए पुग्ने भएको छ । दोभानमै रहेको शिवालय मन्दिरसँगै धार्मिक तिर्थाटन्, पृती मोक्षका लागि गरिने तर्पणका लागि निकै पवित्र स्थान हो कुइने दोभान ।
“कैलाश पर्वतको चरणस्पर्श गरी बग्ने कर्णाली पवित्र हो, देशका सबै दोभानहरु तिर्थ बनेका छन् तर भेरी र कर्णाली उपेक्षामा परेको छ ।” भन्नुहुन्छ स्थानिय पदमप्रसाद खनाल ।
कर्णाली र भेरीको यात्रा
कर्नाल नामक बाध्यवाधन यन्त्रबाट आउने तिखो स्वार जस्तै आवाज निकालेर करङ जस्तो पहाडी खोचबाट बहने भएकाले कर्नाली उर्फ कर्णाली नाम रहन गएको भन्ने जानकारहरु बताउछन् । कर्णाली तिब्बतको माम्चा चुंगोको मयुरमुख जलप्रवाह हुँदै मुगु कर्णाली, हुम्ला कर्णाली, तिला कर्णाली, हिमा कर्णाली, लोहोरे, सेती हुँदै बुढि गंगालाई समाहित गर्दै कुइनेसम्म पुग्दछ ।
कैलाशदेखि गंगा नदिसम्म यात्रा गर्ने कर्णाली र भेरी नदी अपार सम्भावनाहरु बोकेर कर्णाली चिसापानी हुँदै तराई प्रवेश गर्दछ । धार्मिक तथा सांस्कृतिक रुपमा निक्कै महत्त्वपूर्ण रहेको भए पनि तिर्थ क्षेत्र बन्न सकेको छैन । अहिलेसम्म पनि कुनै पनि निर्माणको अवरोध बिना नर्बाध प्राकृतिक बहने नदि हो, कर्णाली एक सभ्यतानै बोकेर बग्छ । नेपालको सबैभन्दा लामो नदी समेत रहेको कर्णालीको ५०७ किलोमिटर लम्बाई रहेको छ ।
त्यस्तै भेरी नदी नेपालको एक महत्त्वपूर्ण नदि हो । धौलागिर, चुरेन हिमालको उत्तरपश्चिम ग्लेसियरबाट प्रादुर्भाव हुने भेरी नदिका डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत जिल्ला जलाधार क्षेत्र हुन् । डोल्पाबाट आउने ठुली भेरी र रुकुमपश्चिबाट आउने सानी भेरीको रिम्नामा भेट भएपछि भेरी नदिको नाम धारण गर्दछ । यस बिचमा भेरी नदिमा दर्जनभन्दा धेरै साना खोलाहरु मिसिन्छन् । तब मात्र कर्णाली नदीको मुख्य सहायक नदी हो ।
एक किलोमिटरको परिधिभिध कर्णाली, भेरी नदिमाथि कुइने, चिप्ले, घाटगाउँ गरी तिव वटा पक्की पुलले दोभान पुग्न सहज बनाएको छ । पश्चिम सुर्खेतलाई तराईसँग मात्र हैन पश्चिम नेपाललाई समेत जोडेको छ । र नयाँ पर्यटकीय गन्तव्यको ढोका समेत उघारिदिएको छ ।