रूपन्देहीमा रविको बयान : बिहीबारदेखि थुनछेक बहस

  ४ घण्टा अगाडि

भैरहवा, ९ माघ : सुप्रिम सहकारी बुटवलको बचत अपचलन अभियोगमा जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मङ्गलबार बयान लिइएको छ ।

सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराधको कसुरमा लामिछानेविरुद्ध आइतबार रूपन्देही अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित हुनुभएको हो । जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेको बयान लिइएको हो ।

लामिछाने बयानका लागि बिहान साढे १० बजे नै अदालतमा पुगे पनि दिउँसो २ बजेदेखि मात्र बयान सुरु भएको थियो । जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार बुधबार बयान लिने काम सकिएकाले अब बिहीबारदेखि थुनछेक बहस हुने छ ।

लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट पनि कानुन व्यावसायी रूपन्देही आएका छन् । अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्तसहितका कानुन व्यावसायी आएका हुन् । रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ ।

त्यसैगरी, पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नुहुने छ । उहाँहरू पनि बहसका लागि रूपन्देही आइपुग्नु भएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलका अनुसार सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जनाभन्दा बढी कानुन व्यावसायीले बहस गर्ने छन् ।

इलाका प्रहरी कार्यालय बुटवलको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले दर्जन बढी तथ्य र प्रमाणसहित रवि लामिछाने, छविलाल जोशीसहित पूरकमा १४ र सुरु मुद्दाका आठसहित २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा पूरक मुद्दा दायर गरेको थियो ।

२२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपियाँ बिगो दाबी गरिएको छ । लामिछानेविरुद्ध दुई करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपियाँको छुट्टै बिगो माग गरिएको छ ।

तपाईको प्रतिक्रिया