काठमाडौँ, १५ पुस : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
देश तथा विदेशमा रहनुभएका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमासुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।
संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रुपमा आत्मसात गरेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
सबै जातजाति र समुदायका नेपाली जनताबीच सामाजिक, सांस्कृतिक सद्भाव, भातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।