अमरगढी (डडेल्धुरा), १३ पुस : जिल्लाका सातवटै स्थानीय तहमा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने उद्देश्यले शिक्षकलाई सहजीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले स्थानीय तहको सहकार्यमा शिक्षकलाई नयाँ पाठ्यक्रम र पाठ्य सामग्रीबारे अभिमुखीकरण गराइरहेको हो ।
कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका शिक्षकलाई सहजीकरण कार्यक्रम सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक गोपालदत्त पाण्डेले जानकारी दिनुभयो । कार्यक्रममा नयाँ पाठ्यक्रमको उद्देश्य, संरचना र शिक्षण विधिबारे विस्तृत जानकारी प्रदान गरिएको उहाँले बताउनुभयो ।
सहजीकरणले शिक्षकलाई नयाँ पाठ्य सामग्रीको प्रयोग र कक्षाकोठामा व्यवहारिक शिक्षण प्रविधिको उपयोग गर्न सिकाउने लक्ष्य राखेको छ । उहाँका अनुसार नयाँ पाठ्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान र जीवन उपयोगी सीप विकास गर्न प्रेरित गर्नेछ ।
सहजीकरण कार्यक्रम जिल्लाको सातवटै पालिकामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको बताउँदै पाण्डले यसअघि परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको जानकारी दिनुभयो । आइतबार भागेश्वर गाउँपालिका, १५ गते गन्यापधुरा र १६ गते अमरगढी नगरपालिका, १८ र १९ गते क्रमशः नवदुर्गा र अजयमेरु गाउँपालिकामा सहजीकरण कार्यक्रम सञ्चालन गरिने प्राविधिक उहाँले बताउनुभयो ।