भीम रावल आफैँ पार्टीबाट निक्लिनु भएको हो : महासचिव पोखरेल

  १९ घण्टा अगाडि

चितवन, १२ पुस : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भीम रावल आफैँ पार्टीबाट निक्लिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभई आफैँ छाडेको बताउनुभयो ।

पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि उहाँ पार्टी सदस्य हुनुभएन । त्यसैले पार्टीले निकालेको होइन आफैँ निस्किनुभएको हो महासचिव पोखरेलले भन्नुभयो । पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘रावलजीले एमालेको मूल्य मान्यता र अनुशासनभित्र बस्न सक्नुभएन । संसदभित्रको संसदीय ह्विप उल्लङ्घन गर्नुभयो । पार्टी र पार्टीका अध्यक्षविरुद्ध अभिव्यक्ति दिँदै हिँड्नुभयो । त्यसैले पार्टी सदस्य रहनुभएन ।’’

संसद् विघटनपछिको परिस्थितिमा नेकपाको प्रचण्ड र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरु विपक्षमा उभिनुभएको थियो ।

‘‘रावलजी आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने गर्नुभएको थियो । अरुमाथि आफूले गर्ने जङ्गी व्यवहार, आफू भने नियममा बस्न पर्दैन ।’’ पोखरेलले भन्नुभयो ।

पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको उहाँले बताउनुभयो ।

पार्टीको महाधिवेशनमा उपाध्यक्षमा बस्न आग्रह गर्दा मान्नुभएन । केन्द्रीय सदस्यमा पनि पराजित हुनुभयो । ‘‘हामीले अहिलेसम्म महाधिवेशनमा पराजित भएका कसैलाई पनि केन्द्रीय कमिटीमा मनोनीत गरेका छैनौं । महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकार परिषद्को सदस्य बनाएका छौं, महासचिव पोखरेलले भन्नुभयो । रावलजी सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताउनुभयो ।

पार्टी निकट उद्योगी व्यवसायीको राष्ट्रिय भेलालाई सम्बोधन गर्न महासचिव पोखरेल चितवन आउनुभएको हो ।

तपाईको प्रतिक्रिया