नेपालगञ्ज (बाँके), ११ पुस : बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी दिनुभयो ।
निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उहाँले बताउनुभयो । उक्त सवारीमा बढीमा १० जनाले जङ्गल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि रु दुई हजार पाँच सय शुल्क बुझाउनुपर्ने हुन्छ ।
सूचना अधिकारी पङ्गेनीले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताउनुभयो । सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेललागायतका वन्यजन्तु अवलोकन गर्नसक्ने छन् । वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उहाँको भनाइ छ ।
उहाँले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिनुभयो । उक्त सर्वेक्षणले बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ ।
विसं २०६७ मा बाँके, दाङ र सल्यानको पाँच सय ५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।