देउखुरी (दाङ), ११ पुस : धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गर्नुभएको छ । विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उहाँले बताउनुभयो ।
उहाँले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो वर्षदेखि फल दिन थालेका छन् । उहाँको फार्म रहेको जमिनमा तारजाली लगाउनु भएको छ । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताउनुभयो ।
“सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन, उहाँले भन्नुभयो, “त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।” उहाँको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् ।
कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उहाँले भन्नुभयो, “कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।” उहाँले दुई सय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उहाँले बताउनुभयो । उत्पादन भएको कागती घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उहाँले बताउनुभयो । दैनिक ५० किलो बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नेुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उहाँँको भनाइ छ । स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गनुभएको छ । पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रुपमा कागतीखेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई ÷चार बोट लगाउनेहरुले अहिले व्यावसायिक रुपमा कागतीखेती गर्न थालेका छन् । तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागतीखेती हुने गरेको छ ।
ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको दुइ वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिीक रुपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदेबालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उहाँ बताउनुहुन्छ । सूचना अधिकारी लामिछानेले भन्नुभयो, “अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ ।