गाजामा युद्धविरामको सम्झौतामा इजरायलको ‘नयाँ’ सर्तहरूले ढिलाइ गर्यो– हमास

  १२ घण्टा अगाडि

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्रहरू), १० पुस (रासस/एएफपी) : हमासले बुधवार इजरायलमाथि गाजामा भइरहेको युद्धमा युद्धविराम सम्झौतालाई ढिलाइ गराउने ‘नयाँ सर्तहरू’ थोपरेको आरोप लगाएको छ । यद्यपि उसले वार्ता अझै जारी रहेको स्वीकार गरेको छ ।

सन् २००७ अक्टोबर ७ मा बन्धक बनाइएकाहरूको रिहाइ सुरक्षित गर्ने प्रयासमा इजरायलले कुनै नयाँ सर्तहरूबारे सार्वजनिक बयान दिएको छैन ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीचको अप्रत्यक्ष वार्ता हालैका दिनहरूमा दोहामा भएको छ । वार्ताले अधुरो साबित भएको युद्धविराम सम्झौताको आशालाई पुनः जगाएको छ ।

“कतार र इजिप्टको मध्यस्थताअन्तर्गत दोहामा युद्धविराम र कैदी आदानप्रदान वार्ता गम्भीर रूपमा जारी छ… तर कब्जाकारी शक्ति (सेना) ले युद्धविराम, कैदीहरू र विस्थापित मानिसहरूको फिर्तीसित सम्बन्धित नयाँ सर्तहरू स्थापित गरेको छ, जसले सम्झौतामा पुग्न ढिलाइ गरेको छ”, प्यालेस्टिनी लडाकू समूहले एक विज्ञप्तिमा भन्यो ।

हमासले इजरायलले थोपेका सर्तहरूबारे विस्तृत जानकारी दिएन ।

सोमवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संसद्मा वार्तामा ‘केही प्रगति’ भएको बताउनुभएको थियो र मङ्गलबार उहाँको कार्यालयले इजरायली प्रतिनिधिहरू ‘महत्त्वपूर्ण वार्ता’ पछि कतारबाट फर्केको जनाएको थियो ।

गत साता हमास र अन्य दुई प्यालेस्टिनी उग्रवादी समूहहरू इस्लामिक जिहाद र वामपन्थी पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनले एक दुर्लभ संयुक्त विज्ञप्तिमा इजरायलले नयाँ सर्तहरू लागु नगरेमा युद्धविराम सम्झौता ‘पहिलेभन्दा नजिक’ भएको बताएका थिए ।

युद्धविराम र बन्धक रिहाइ सम्झौताका प्रमुख बाधाका कारण पटक–पटक प्रयासहरू असफल भएका छन् ।

धेरै चरणको अप्रत्यक्ष वार्ताका बावजुद इजरायल र हमासले सन् २०२३ को अन्त्यमा एक हप्तासम्म चलेको एउटा युद्धविराममा मात्र सहमति जनाएका थिए ।

त्यसयता वार्ताले धेरै चुनौतीहरूको सामना गरेको छ । यसमा असहमतिको प्राथमिक विन्दु गाजामा स्थायी युद्धविरामको स्थापना हो ।

अर्को समाधान नगरिएको मुद्दा युद्धपछिको गाजाको शासन हो । यो प्यालेस्टिनी नेतृत्वभित्र पनि अत्यन्त विवादास्पद मुद्दा बनेको छ । इजरायलले बारम्बार हमासलाई फेरि क्षेत्र चलाउन नदिने बताएको छ ।

“हामी हटाउनु अघि म युद्ध अन्त्य गर्न सहमत हुने छैन”, गत हप्ता द वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा नेतान्याहुले भन्नुभयो, “तेल अभिभबाट ३० माइल टाढा गाजामा उनीहरूलाई सत्तामा छोड्ने छैन, यो हुनेछैन ।”

उहाँले फलाडेल्फी करिडोरबाट इजरायली सेना फिर्ता लैजान नचाहेको बारम्बार बताउँदै आउनुभएको छ । यो गाजा र इजिप्टको सीमानामा इजरायलले खाली गरेर नियन्त्रण गरेको भूभाग हो ।

तपाईको प्रतिक्रिया