काठमाडौँ, ७ पुस : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ।
महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार सोमबार रातिदेखि सुदूरपश्चिम प्रदेशतिर बादल लाग्ने तथा पानी पर्ने पूर्वानुमान गरिएको छ।
मौसमविद् महर्जनले भन्नुभयो, “भोलि रातिबाट सुदूरपश्चिमतिर बादल बढ्ने तथा पहाडी भूभागमा पानी पर्ने सम्भावना छ।”
उहाँले पश्चिमी वायुको न्युन चापीय प्रणाली नेपालतर्फ आउने भएकाले हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “हिमाली तथा पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी वायुको न्युन चापीय प्रणाली नेपालतर्फ आउन लागेको छ। यसको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना छ।”
उहाँका अनुसार यसको बढी असर पश्चिमी क्षेत्रमा पर्ने र मध्य एवम् पूर्वी भूभागमा बादल लाग्ने सम्भावना छ। यो प्रणाली मङ्गलबार रातिसम्म सुचारु हुने उहाँले जानकारी दिनुभयो।