सुदूरपश्चिमविरुद्ध बदला लिँदै जनकपुर बोल्ट्स च्याम्पियन

  पुष ०६, २०८१

काठमाडौं, ६ पुस : जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । हाई ‘स्कोरिङ’ खेलमा लाहिरु मिलान्थाले ८७ रन बनाएपछि सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरपश्चिमविरुद्ध लिग चरण र क्वालिफायर वानमा व्यहोरेको हारको बदला फाइनलमा लिँदै जनकपुर च्याम्पियन बनेको हो ।

जनकपुरलाई च्याम्पियन बनाउन मिलान्थाले फाइनलमा उत्कृष्ट ब्याटिङ गरे । उनले ४९ बल खेल्दै ९ चौका र ४ छक्काको मदतमा सर्वाधिक ८७ रन बनाएका हुन् । पहिलो विकेटका लागि मिलान्था र कप्तान आसिफ शेखले ७३ रनको साझेदारी गरेका थिए । आसिफले सातू ओभरको अन्तिम बलमा आउट हुनुअघि १९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाए ।

यस्तै हर्शक थाकरले अविजित ३० रन जोडे । थाकरले २४ बल खेल्दै २ छक्का प्रहार गरे । वान डाउनमा ब्याटिङमा आएका मोहम्मद मोहसिनले ९ रन बनाएर आउट भए । जिमी नीशम ४ र आकाश त्रिपाठी २ रनमा आउट भए । विजयी रन प्रहार गरेका मयन यादव २ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइन, कप्तान दीपेन्द्र सिंह ऐरी, सैफ अली जैब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

सुदूरपश्चिम रोएल्सका ओपनर जैबले ४३ बल खेल्दै ८ चौका र २ छक्का मदतमा सर्वाधिक ६९ रन बनाएका हुन् । अर्का ओपनर विनोद भण्डारीले ३१ बल खेल्दै १ चौका र ३ छक्का मदतमा ४१ रन जोडे । जैब र विनोदले पहिदलो विकेटका लागि १२ ओभरमा ११७ रनको साझेदारी गरेका थिए ।

ओपनरले राम्रो सुरुवात दिलाएपनि मिडल अर्डर र लोअर अर्डरले राम्रो कन्ट्रिब्युट गर्न सकेनन् । सुदूरपश्चिमले अन्तिम दुई ओभरमा ५ विकेट गुमाएको थियो ।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३–३ विकेट लिए । जनकपुरका ललित राजवंशीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै १५ रन मात्र खर्चेर १ विकेट लिए ।

जारी एनपीएलमा ललितले सर्वाधिक ५ मेडन फालेका छन् । जनकपुरका ललित र सुदूरशका स्कट कुगेलेइन दुवैले संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिए ।

फाइनलमा सानदार ब्याटिङ गर्दै विजयी इनिङ्स खेलेका मिलान्था सर्वाधिक रन बनाउने खेलाडी बने । पहिलो खेलमा पनि अरध्शतक बनाएका उनले दुई अर्धशकसहित १० खेलमा सर्वाधिक २९३ रन बनाएका हुन् ।

तपाईको प्रतिक्रिया